काठमाडौ:सुशासनका दृष्टिले यो बर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ ।

मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलबार ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल नगरेको हो ।

भ्रष्टाचार अवधारणा सूचाङ्कमा मुलुकले गत वर्षझैँ यस वर्ष पनि १०० पूर्णाङ्कमा ३१ अङ्क ल्याएकाले सुशासनमा सुधार नभएको ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिए । अध्यक्ष रेग्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक र कर्मचारीतन्त्रमा रहेको बताए । नेपालसहित ट्रान्सपरेन्सी इन्टरनेशनलले आज विश्वका १८० देशको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक गर्दैछ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचाङ्कमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छन् ।

सय पूर्णाङ्कमा सोमलियाले १० अङ्क र डेनमार्कले ८८ अङ्क ल्याएका छन् । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दुई तिहाइ मुलुकले ५० भन्दा कम अङ्क पाएका छन् । धेरै मुुलुक भ्रष्टाचारविरुद्ध प्रतिबद्धता जनाएपनि प्रयास गर्न चुकेका छन् । प्रतिवेदनमा भ्रष्टाचार कम हुने मुलुकमा कानूनी शासन, स्वतन्त्र नियमनकारी निकाय, स्वतन्त्र प्रेस र नागरिक समाजलाई खुलापन गरेका छन् भने भ्रष्टाचार बढी हुने मुलुकमा राजनीतिक अधिकारमा कमी, नियन्त्रित मिडिया र फितलो कानूनी शासन रहेको उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सीका महासचिव मुकुन्दबहादुर प्रधानले सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिक भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेकाले भ्रष्टाचार नघटेको बताए ।

नेपाल सन् २०१६ मा २९ अङ्क ल्याउँदै १३१ औ, २०१५ मा २७ अङ्क ल्याउँदै १३०, २०१४ मा २९ अङ्क ल्याउँदै १२६ औँ, २०१३ मा ३१ अङ्क ल्याउँदै ११९ र २०१२ मा २७ अङ्क ल्याउँदै १३९ औँ स्थानमा परेको थियो । सन् २०१८ मा भ्रष्टाचारको सूचाङ्कमा दक्षिण एशियाली मुलुकमध्ये भुटान ६८ अङ्क ल्याउँदै २५ औँ स्थान र अफगानिस्तान १६ अङ्क ल्याउँदै १७२ औ स्थानमा रहेका छन् ।