इनरुवा: सशस्त्र प्रहरीले केही दिनदेखि कडा निगरानी गरेर अवैध आयातलाई निरुत्साहित गरिरहे पनि सुनसरीको दक्षिण सीमावर्ती क्षेत्रका नाकाहरुबाट अबैधरुपमा पशुपंक्षीजन्य कुखुरा ल्याउन रोकिएको छैन ।

केही दिनदेखि सशस्त्र प्रहरीले अवैधरुपमा ल्यादै गरेको कुखुरा वरामद गरी नष्ट गर्दै आएको छ । सोमबार रातिको समयमा भारतको बस्मतिया बजारबाट नर्सिङको नाका हुदै २ सय २० वटा कुखुरा ल्याउदै गरेको अवस्थामा भुटाहा सशस्त्र प्रहरी बलले पक्राउ गरेको थियो । बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल भुटाहाका प्रमुख धिरज गुरुङको टोलीले तस्कर पछयाए पनि पक्राउ पर्न सकेनन् । तर, तस्करले भोक्रहा नर्सिङ गाउँपालिका वडा नम्बर ५ स्थित नौसाद मंसुरीको घरमा अवैध कुखुरा छोडेर भागेका थिए । सो घरबाट २ सय २० वटा कुखुरा सशस्त्र प्रहरी बल भुटाहाको टोलीले वरामद गरेको जनाइएको छ ।

भारतबाट अवैधरुपमा ल्याएको कुखुराको अनुमानित मुल्य २ लाख बराबरको रहेको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । केही दिनदेखि लगातार पक्राउ परेको कुखुरा भुटाहा सशस्त्र प्रहरी क्याम्पको हाताभित्र नष्ट गर्ने काम भइरहेको छ । सोमबार राती पनि बरामद गरिएको कुखुरा प्रहरी, विभिन्न सरकारी कार्यालयका प्रमुख, समाजसेवी, पत्रकारको रोहबरमा नष्ट गरिएको उनले बताए ।केही दिनअघि मात्रै पनि अवैध आयात गरिएको सयौ कुखुरा पक्राउ गरी नष्ट गरिएको थियो । अवैध कुखुरालाई सशस्त्र क्याम्प परिसरमा नै खाल्डो खनेर पुर्ने गरिएको छ । सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रबाट विभिन्न अबैध रुपमा लताकपडा, सुर्तीजन्य पदार्थ, लागुऔषध, कुखुराको चल्ला र हाँसको चल्लालगायत भित्रने गरेकोछ । सशस्त्र प्रहरीले अवैध आयात हुन नदिन सीमावर्ती क्षेत्रमा कडा गस्ती गरिरहेको छ ।