धरान: भोटेपुल हुदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोड, बुद्ध चोक हुदै रत्न मार्ग, चतरामार्गको मापदण्ड कति हो ? यो अन्यौलता र विवाद कायमै छ ।

तत्कालीन धरान नगरपालिकाले २०५६ मा यो सडकको मापदण्ड ६० फिट र सेड ब्याक दुवै तिर ६ फिट गरेर ७२ फिट कायम गरेको थियो । अर्कोतर्फ, नेपाल सरकारले चुरे फेदी सहायक राजमार्ग कायम गर्दै यो सडकको मापदण्ड १४० फिट कायम गरेपछि भने विवाद हुदै आएको थियो । यो सडक मापदण्ड कायम गरिएपछि सडकका दाँयाबाँयाका घर, घडेरी अहिलेसम्म रोक्का छ । यो मापदण्ड नेपाल सरकारले २०७२ चैत महिनामा राजपत्रमा प्रकाशित गरेको थियो । तर,यो सहायक राजमार्गबाट प्रभावित बनेका बासिन्दाहरुले भने उपमहानगरले सहायक राजमार्गलाई वाइपास गर्नुपर्ने र रोक्का भएको जग्गा फुकुवा गर्नुपर्ने माग गर्दै आएका थिए । लामो अन्यौलतालाई चिर्दै अहिले धरान उपमहानगरपालिकाले यो सडक खण्डको मापदण्ड साविककै ७२ फुट कायम हुने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले वडा ८, १०, १७, १८ र १९ मा पर्ने धनकुटे रोड, रत्नमार्ग, चतरामार्गको सडक मापदण्ड साविकको ७२ फिटलाई नै आधार मानेर निर्णय गरिएको निमित्त कार्यवाहक प्रमुख नरेश इवारमले जानकारी दिए । ‘यो सडकको मापदण्ड विगतमा पनि निवार्चित जनप्रतिनिधिले नै ७२ फिट कायम गरेको थियो, अहिले हामीले पनि त्यसैलाई कायम गर्ने निर्णय गरेका छौ,’उनले भने । इवारमले यो निर्णयलाई क्षेत्रीय सडक निर्देशनालय, सडक विभागमा पनि पठाउने बताए । साथै बोधार्थ स्थानीय विकास मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, अर्थमन्त्रलयहरुमा पनि पठाइने उनले बताए ।

received_336590763854145

 

 

यो सडकमा २०४६ सालको तत्कालीन नगर विकास समितिले सेड ब्याकसहित २८ मिटर (९८ फुट) कायम गरेको थियो । पछि २०५६ सालमा तत्कालीन नगरपालिकाले मापदण्ड परिवर्तन गरेर सेड ब्याकसहित ७२ फिट कायम गरेको गरेपछि सोही अनुसार घरनक्सा पास हुदै आएको थियो । वडा नं १७ का अध्यक्ष सुुर्यकुमार भटराई(मनोज)ले चुरेफेदी (मदन भण्डारी)राजमार्ग बाइपास भए पनि, नभए पनि ७२ फिट नै कायम हुनुपर्छ भनेर बैठकले निर्णय गरिएको बताए । ‘१४० फिट मापदण्डको सडक बाइपास हुनुपर्छ, हुन्छ । नहुने हो भने यही ७२ फिट मापदण्ड कायम हुनुपर्छ भन्ने उपमहागरको निर्णइ हो,’उनले भने ।

के भन्छ संघर्ष समिति ?

IMG_20190129_121548

२०७३ साउनमा गठन भएको धनकुटे रोड संयुक्त संघर्ष समितिका संयोजक निनामचन्द्र राईले आफुहरुको माग १४०फिटको सडक बाइपास भएर रोक्का भएको जग्गा फुकुवा हुनुपर्छ भन्ने मात्र रहेको बताए । जग्गा फुकुवा भएपछि निर्माण भइसकेका घरहरुमा साविक अनुसारकै मापदण्ड स्वतः लागु हुने उनले बताए । ‘७२ फिट मापदण्ड कायमप्रति हाम्रो विरोध पनि छैन, समर्थन पनि छैन,’उनले भने,‘कतिको घर ७२ को मापदण्डमा छ, कतिको ६० फिटमा बनेको छ । हाम्रो मुख्य माग भनेको १४० फिटको राजमार्ग बाइपास हुनुपर्छ र हाम्रो घरजग्गा फुकुवा हुनुपर्छ भन्ने हो ।’ संघर्ष समितिले १४० फिट सडकलाई बाइपास गर्नेबारे ठोस निर्णय गरेर धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै आज मंगलबार वृहत र्याली पनि निकालेको थियो ।