ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “मालपोतमा दैनिक सास्ती” शीर्षकको छापिएको छ । सफ्टवेयर खराबी भएको भन्दै तीन दिनदेखि अनलाइन सेवा प्रभावित हुदाँ जिल्ला मालपोत कार्यालय सुनसरीमा सेवाग्राहीले दैनिक सास्ती खेप्ने गरेका छन् । कामकाजका लागि कार्यालय पुगेका सेवाग्राहीलाई कर्मचारीले अनलाइन सेवा प्रभावित भएको जानकारी गराउने गरेका छन् । कार्यालयले सूचना टाँस गरी सेवा प्रभावित हुन पुगेको जनाएको छ । अनलाइन प्रणालीमा जग्गासम्बन्धी कामकाज थालेको सुनसरी मालपोतको सिस्टम प्रणालीमा खराबी देखिएको भन्दै दुःख दिने गरेको धरानका सेवाग्राही अरुण प्रधानले बताए । ‘पहिलो दिन आएँ अनलाइनले काम गरेको भन्यो । आज आउँदा पनि उस्तै छ’ –उनले फोनसम्पर्कमा भने । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा तीन दिनदेखि काम ठप्प झैँ बन्न पुग्दा सेवाका लागि कार्यालय पुगेका सर्वसाधारण आक्रोसित हुन थालेका छन् । यसैगरी “झापाको दक्षिणी भू–भाग डुबानको चपेटामा” शीर्षकको समाचार पनि आजको ब्लाष्टमा छापिएको छ । झापाको दक्षिणी भू–भाग वर्षेनी डुबानको चपेटामा पर्ने गरेको छ । डुबानका कारण लाखौँको धनमाल नष्ट हुनुका साथै धेरै नागरिक विस्थापित हुने गरेका छन् । बलियाहरु त डुबानबाट बच्न सुरक्षित गन्तव्यमा जान सक्छन् नै तर कमजोर र सहाराविहीनको बिचल्ली हुने गरेको छ । पटक–पटक विच्ल्लीमा परेका यस्तै शारीरीक रुपमा अशक्त आमाछोराका लागि झापाली युवाको सक्रियतामा स्थायी घर निर्माण हुने भएको छ । झापाको विर्तामोड नगरपालिका–९ की ८० वर्षीय सुकसरी सुस्त मनस्थितिकी छन् । डोलो आखाँ मात्र देख्छन् । अपाङ्ग उनी बोल्न, सुन्न र हिड्न समेत सक्दैनन् । आफन्त कोही नभएका उनीहरु भए खाने नभए भोकै बस्ने गरेका छन् । स्थानीय प्रकाश बुढाथोकीको सक्रीयताम आमाछोराका लागि स्थायी घर निर्माण हुने भएको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “लाइट र मोबाइल बालेर शल्यक्रिया” शीर्षकको समाचार छापिएको छ । जिल्ला अस्पताल तेह्रथुममा प्रसुति गराउन आउने सुत्केरीको इमरजेन्सी लाइट र मोबाइलसमेत बालेर शल्यक्रिया गरिने गरेको छ । पछिल्लो समय जिल्लामा विधुत आपूर्तिमा समस्या हुँदा अस्पतालले विशेष गरेर रातको समयमा वैकल्पिक उर्जाको विकल्पमा इमरजेन्सी लाइट र मोबाइल बालेर सुत्केरीको शल्यक्रिया गरेको हो । श्रोत साधनको अभावमा सुत्केरीको शल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि जिल्ला बाहिर विरामीलाई रेफर गरिने गरेको विरामीका आफन्तले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा ६ महिनाभित्र प्रसुति व्यथा लागेका दुई जना सुत्केरीलाई शल्यक्रियापछि अत्याधिक रक्तश्राव भएपछि जिल्ला बाहिर रेफर गर्दा महंगो शुल्क तिरेर एयर एम्बुलेन्सबाट जिल्ला बाहिर उपचारका लागि लगिएको छ । पछिल्लो समय जिल्ला अस्पतालमा सुरक्षित सुत्केरीका लागि आएकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि जिल्ला बाहिर रेफर गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “रुपमती हत्या आशंकामा अनुसन्धान तीब्र” शीर्षकको समाचार छापिएको छ । विराटनगर महानगरपालिका–८ बलुवाहीकी १० वर्षीय बालिकाको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । आइतबार दिउँसो विराटनगर ८ स्थित सिंघिया खोलाको किनारमा १० वर्षीय रुपमती दासको नग्न अवस्थामा शव भेटिएको थियो । लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले हत्यामा संम्लग्न भएको आशंकामा शंकाश्पद १० जनालाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले आइतबार साँझ र सोमबार नियन्त्रणमा लिएका १० मध्ये केहीलाई छाडेको छ ।

औजार : आजको औजार दैनिकमा “दलित महिलामाथि मापसे गरी निर्घात कुटपिट” शीर्षकको समाचार छापिएको छ । संखुवासभाको खाँदबारीस्थित पिप्लेका एक दलित महिलामाथि त्यहाँका स्थानिय पिप्ले माविमा लेखापालको रुपमा कार्यरत नवीन कार्कीले मादक पदार्थ सेवन गरी निर्घात कुटपीट गरेको खुलासा भएको छ । घटना आइतबार राति बजेको हो । कार्कीको कुटपीटबाट सिकिस्त भएकी २५ वर्षीय जुना विकको मंगलबारदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । आइतबार बेलुकी ८ बजेको समयमा घरमा कोही नभएको मौका पारी मापसे सेवन गरेर नशाको सुरमा एक्कासी मलाई कुटपीट गर्यो, प्रतिष्ठानमा उपचाररत पीडित महिलाले मंगलबार सञ्चारकर्मीसंग भनिन् । श्रीमान कुविरजंग विक पनि कामबाट फर्किएको थिएन ।