बेलायती प्रधानमन्त्री टेरिजा मेलाई ब्रेक्जिट सम्झौतामाथि युरोपेली संघसँग फेरि वार्ता गर्न संसद्ले अनुमति दिएको छ ।

कन्जभेटिम पार्टीका सांसद ग्राहम ब्रेडीको प्रस्तावमा संसद्मा भएको मतदानमा प्रधानमन्त्री मे को समर्थनमा १६ मत बढी परेपछि उनलाई वार्ताको अनुमति प्राप्त भएको हो ।

युरोपेली संघबाट अलग हुने समय नजिकिँदै आएपछि यसका बारेमा स्पष्ट बाटो भने अझै फेला परेको छैन । यसअघि प्रधानमन्त्री मे ले ल्याएको प्रस्ताव संसद्ले अस्वीकृत गरेको थियो ।

त्यसपछि मे विरुद्ध आएको अविश्वासको प्रस्तावमा भने उनी विजयी भएकी थिइन ।

त्यसपछि प्रधानमन्त्री मे ले सांसदहरुसँग अपील गर्दै एक पटक पुनः युरोपेली संघसँग सम्झौता गर्ने मौका दिन अपील गरेकी हुन् ।

अब संसद्ले उनलाई यो मौका दिएको छ । प्रधानमन्त्री मे ले आफ्नो अघिल्लो प्रस्तावलाई संशोधन गरेर सदनमा पेश गर्नुभएको थियो । जसमा सांसदहरुले समर्थन दिएका छन् ।

बेलायती प्रधानमन्त्रीलाई संसद्ले मौका दिएपछि युरोपेली संघले भने सम्झौतामा भएका कानुनी भाषा बदल्न नसकिने जनाएको छ ।

तर प्रधानमन्त्री मे ले युरोपेली संघसँग वार्तापछि संशोधित सम्झौतालाई चाँडोभन्दा चाँडो संसद्को तल्लो सदनमा पेश गर्ने बताएकी छन् ।

युरोपेली संघबाट बेलायत आगामी मार्च २९ बाट औपचारिक रुपमा अलग हुने छ । बेलायतमा भएको जनमत संग्रहले युरोपेली संघबाट अलग हुने निर्णय गरेको थियो । –एजेन्सी