धरान: यही माघ २६ गतेदेखि शुरु हुन लागेको २१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकपको प्रचारप्रसारको लागि आयोजना भइरहेको बुढासुब्बा रेडबुल प्रोमोशन कपमा नेपाल पत्रकार महासंघ सुनसरीको टिम उपाधि नजिक पुगेको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा निजी स्कुल सञ्चालकहरुको एरिया कोअर्डिनेशन कमिटि(एसीसी) टोलीलाई ६–० को फराकिलो गोल अन्तरले हराउदै पत्रकार महासंघको टिम फाइनलमा प्रवेश गरेको हो । खेलमा पत्रकार टिमका धिरेन लिम्बूले ह्याट्रिकसमेत गरे । खेलको पहिलो हाफको ८ औं मिनेटमा पत्रकारका सनम लिम्बूले गोल गदै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको पत्रकार टोलीले दोस्रो हाफमा ५ गोल थपे ।

IMG_9735

दोस्रो हाफको ४५ औं, ५५ औं र ५८ औं मिनेटमा गोल गर्दै पत्रकारका धिरेन लिम्बूले ह्याट्रिक पुरा गरेका थिए । यस्तै, ४६ ओं मिनेटमा पत्रकारका दिलीप लिम्बू एक गोल गरे भने ४८ औं मिनेटमा सनम लिम्बूले व्यक्तिगत दोस्रो गोल गरे । खेलको म्यान अफ दि म्याच घोषित हुदै ह्याट्रिकर्ता धिरेन लिम्बूले मेडल र नगद ५ सय हात पारे । उनलाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले पुरस्कार प्रदान गरेका थिए ।

IMG_9734

खेलमा पहिलो हाफ देखिनै पत्रकारकार टोलीले एसीसीलाई निकै दबादमा राखेको थियो । दोस्रो हाफमा लयमा फर्किने कोसिस गरेपनि गोल गर्न भने सकेन । फाइलनमा पत्रकार टिमले आयोजक धरान फुटबल क्लव र धरान उपमहानगरपालिकाको टोलीबीच हुने खेलको विजेताको सामाना गर्नुपर्नेछ । यी दुवै टिमबीच भोली बिहिबार बिहान खेल हुनेछ । फाइनल भने शनिबार हुने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।

IMG_9741 IMG_9748 IMG_9744 IMG_9737