धरान:चुरे फेदी सहायक राजमार्ग कायम गरिएपछि १४० फिट सडक मापदण्ड अनुसार धरानको धनकुटे रोड, रत्नमार्ग, चतरामार्गमा निर्माण भएका सयौं घरमा ठुलो क्षति हुने भएपछि उक्त राजमार्गलाई बाइपास गरिने भएको छ ।

उक्त सडक बाइपास गर्न सडक डिभिजन कार्यालय विराटनगर, क्षेत्रीय सडक निर्देशनालय दमकबाट सिफारिश भइसकेको छ भने रोड एलाइमेन्ट परिवर्तन गर्न सडक विभागकै योजना तथा डिजाइन महाशाखाले पनि बाइपास गर्न सम्भाव्यता अध्ययन गरिसकेको पाइएको छ । विभागको सम्भाव्यता अध्ययनले पनि धरानगेट तीनकुने हुदै घोपा क्याम्प जाने पुरानो मलाया रोड हुदै हाल वीपी प्रतिष्ठानको दक्षिणको गेट, फायरलाइनबाट सर्दुखोलासम्म पुर्याएर पुरानै एलाइमेन्टमा बाइपास जोड्न उपयुक्त हुने प्रतिवेदन दिइसकेको छ । तर, बाइपास गर्ने यो अध्ययनको एलाइमेन्ट स्वीकृत भएर निर्णय हुन भने बाँकी छ ।

IMG_20190129_124110

२०७४ असोज ६ गते सडक डिभिजन प्रमुख जितेन्द्र कुमार चौधरीले पठाएको पत्रअनुसार वीपी प्रतिष्ठान जाने धनकुटे रोडलाई शुरु विन्दु कायम गर्दा नक्सा पास गरी निर्माण भएका १ हजार ५ सय घर घडेरीहरु क्षति पुग्ने र शहर पनि कुरुप हुने उल्लेख छ । उनले वैकल्पिक रुट धरानगेट तीनकुने, मलाया रोड, वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिणी गेट, फायरलाइन, सर्दुको ५ नं पुल हुदै चतरा जाने माग भएकोमा सो बाटोलाई कायम गर्दा स्थानीय जनताको न्युन क्षति हुने र व्यवस्थित सहर पनि जोगिने उल्लेख गरेका छन् ।

सडक विभागले सम्भाव्यता अध्ययन पश्चात बाइपासको निर्णय गर्नुअघि धरान चतरा गाइघाट हेटौडा सडक आयोजना हेर्ने उत्तर दक्षिणको व्यापारिक मार्ग विस्तार आयोजनाको समेत राय लिई निर्णय गर्ने टिप्पणी उठाएको छ । साथै, निर्णय गर्नुअघि सडक डिभिजनमार्फत धरान उपमहानगरपालिकालाई २०७४ फागुन महिनामा नै बाइपास गर्नु उपयुक्त भए नभएकोबारे धारणा माग गरेपनि जवाफ पठाउन ढिलाई गरेको छ । उपमहानगरपालिकाले जवाफ पठाउन ढिलाई गरेकै कारण हिजो मंगलबार धनकुटे रोड संयुक्त संघर्ष समितिले विरोध र्याली गर्दै उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । ‘सडक डिभिजन, क्षेत्रीय निर्देशनालय, सडक विभागले सर्वे गरेर बाइपास नगरे ठुलो क्षति हुन्छ भन्ने भएपछि बाइपास गर्नु उपयुक्त हुने भनिसक्यो, अन्तिम निर्णय लिनुअघि धरान उपमहानगरलाई बाइपास गर्नु ठिक छ कि छैन भनेर सोधेको १० महिना बितिसक्यो कुनै जवाफ दिएको छैन,’संघर्ष समितिका निनामचन्द्र राईले भने,‘उपमहानगरपालिकाले चाडो निर्णय गरोस्, १४० फिट बाइपास होस्, र हाम्रो घरजग्गा फुकुवा होस् ।’

IMG_20190129_124157 1

सडक आयोजनाको मापदण्ड १४० फिट कायम हुदा सयौं घरबारविहिन हुने अवस्था आएपछि प्रभावित सडक क्षेत्रका बासिन्दाहरुले दुई बर्षदेखि सडक बाइपास गर्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । संघर्ष समितिकै प्रस्ताव वमोजिम तीनकुनेदेखि नै बाइपास गर्ने बारे सडक विभागले सर्वे गरेको हो । सडक आयोजना कार्यालयले पनि माथिल्लो एलाइमेन्टबाट सडक लैजादा ठुलो क्षति पुग्ने भएकोले विकल्पमा जान सकरात्मक छ । त, नयाँ सर्वे अनुसारको रुटबाट लैजादा त्यतापटि पनि कुनै विवाद हुन नहुने आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठ बताउँछन् । ‘माथि जोगाउनलाई तलबाट बाइपास गरेर लैजान सकिन्छ, तर त्यहाँ पनि विरोध भयो भने त लैजान सकिदैन । त्यहाँ पनि निजी जग्गा परेको छ भने त समस्या हुन्छ,’आयोजना प्रमुख श्रेष्ठले भने,‘सर्वे भएको छ, निर्णय हुन बाँकी छ ।’

सरकारले १४० फिट मापदण्ड कायम गरे अनुसार धनकुटे रोडको दाँयाबाँयाको घरजग्गा रोक्का छ । स्थानीयबासीले २०७२ चैतदखि किनबेच, घर बनाउन, बैंकिङ कारोबार गर्न पाएका छैनन् । यो सडकखण्डमा वडा नं ८, १०, १९, १८ र १७ पर्छ । २०७३ साउन महिनामा प्रभावित वडाबासीहरुले संघर्ष समिति गठन गरेर बाइपास गर्न निरन्तर पहल गरिरहेका छन् । विगतमा चुरे फेदी सहायक राजमार्ग भनिएको यो आयोजनालाई अहिले सरकारले गौरवको मदन भण्डारी राजमार्ग नामकारण गरेको छ । पुर्वमा इलामको पाटापुर(मेची)बाट शुरु हुने यो राजमार्ग महाकालीसम्म जोडिनेछ ।

IMG_20190129_124549

२०७२ मा सहायक राजमार्ग कायम गरेपनि यो धनकुटे रोड, बुद्ध चोक हुदै रत्न मार्ग, चतरामार्गको मापदण्ड विगतमा सहरी सडककोरुपमा तत्कालीन धरान नगरपालिकाले २०५६ मा ६० फिट र सेड ब्याक दुवै तिर ६ फिट गरेर ७२ फिट कायम गरेको थियो । त्यस क्षेत्रमा सोही अनुसार घरनक्सा पास हुदै आएको थियो । दुई दिन अघि सोमबार मात्र धरान उपमहानगरपालिकाले यो सडक खण्डको मापदण्ड साविककै ७२ फुट कायम हुने निर्णय गरेको छ । उपमहानगरले यो निर्णय क्षेत्रीय सडक निर्देशनालय, सडक विभागसहित बोधार्थ स्थानीय विकास मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय, अर्थमन्त्रलयहरुमा पनि पठाइने तयारी गरेको छ ।

IMG_20190129_123204