काठमाडौं: कलाकारितासँगै सामाजिक कार्यमा पनि तनमनले लागेर प्रसंशा बटुलिरहेका धुर्मस र सुन्तलीले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका १५ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । बुधवार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमको आयोजना गरी रंगशाला निर्माणको घोषणा गरेको हो । सोही कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर पनि भएको छ ।

महानगरपालिकाले २० बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराएपछि रंगशाला निर्माण गरिने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले बताए । क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उक्त रंगशालालाई एकेडेमीका रूपमा विकास गर्ने उनले बताए । रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राखिएको छ । रंगशालाको गुरुयोजना बन्न ६ महिना लाग्ने र आगामी अढाई वर्षभित्र निर्माण सम्पन्न गरेर महानगरलाई हस्तान्तरण गर्ने बताइएको छ ।

फाउण्डेशनका अनुसार रंगशाला निर्माणमा करिब ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । देश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाएर रंगशाला निर्माण गरिने अध्यक्ष कट्टेलले बताए । यो फाउण्डेशन हाँस्य कलाकार धुर्मुस र उनकी पत्नी सुन्तलीले स्थापना गरेका हुन् । २०७२ को भुकम्पपछि कलाकारद्धय भुकम्प पीडित नेपालीहरुलाई राहत संकलन तथा एकीकृत बस्ती निर्माणमा जुटेका थिए । फाउण्डेशनले यसअघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ ।