धरान: मोरङको विराटनगर महानगरपालिका १५ बाट प्रहरीले मलद्धारमा लुकाई राखेको लागुऔषधसहित धरानका २ जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ करिब ७ बजेको लागूऔषधसहित धरान उपमहानगरपालिका १० का २२ को रेजी शेर्पा र २७ बर्षीय सुवास प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई शंका लागि सोधपुछ गर्ने क्रममा मलद्धारमा लागु औषध लुकाई राखेको अवस्थामा फेला पारेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार उनीहरुको मलद्धारबाट लागूऔषध डाईजेल्याव ५ एम्पुल, लुपिजेसिक ११ एम्पुल र एभिल १३ एम्पुल निकालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुलाई लागूऔषध ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ । प्रहरीले बुधबार उदयपुर र मोरङ जिल्लाबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका १३ खैजनपुरबाट प्रहरीले बुधवार लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २० बर्षीय कबिराज ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान करिब १० बजे ढकालले लागूऔषध सेवन गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध डाईजेल्याव ४ एम्पुल, प्रयोग गरिसकेको १ एम्पुल र सिरिन्जमा भरेर राखेको २ एम्पुल पनि बरामद गरेको जनाएको छ । पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।