झापा: जयेन्द्र प्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको साहित्य तथा पत्रकारिता पुरस्कार बुधबार आयोजित एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।

कोषको विर्तामोडस्थित सभाहलमा आयोजित कार्यक्रममा वर्षोत्कृष्ट कृतिको रुपमा स्रष्टा अर्चना थापाद्वारा लिखित कठपुलता, विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवातर्फ साहित्यकार कृष्ण धरावासी र धनमाया सक्रिय वर्षोत्कृष्ठ पत्रकारिता पुरस्कारबाट भारती राईलाई पुरस्कृत गरिएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक साहित्यकार गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पुरस्कृत स्रष्टाहरुलाई प्रमुख अतिथि भण्डारी तथा कोषका अध्यक्ष प्रसाईले दोसल्ला, सम्मान पत्र र नगद राशीसहित सम्मान गरिएको थियो । पुरस्कारको राशी नगद २१ हजार रहेको छ । कार्यक्रममा लेखिका अर्चना थापाको व्यक्तित्व चर्चा साहित्यकार मुनाराज शेर्माले गरेका थिए भने साहित्यकार कृष्ण धरावासीको व्यक्तित्व परिचय लोकराज ढकालले गराएका थिए । त्यस्तै पत्रकार भारती राईको व्यक्तित्वबारे पूर्व पुरस्कृत प्रतिभा शुष्मा राजवंशीले गराएका थिए ।

सम्मानित कठपुतलाकी लेखिका अर्चना थापाको सम्मान पत्र कोषका महासचिव छविलाल खतिवडाले वाचन गरेका थिए भने धरावासी र राईको सम्मान–पत्र केशव भट्टराईले वाचन गरेका थिए । कार्यक्रममा नुरज भट्टराई, देवी संग्रौला लगायतले कविता वाचन गरेका थिए ।