ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “मलद्धारमा लुकाएर लागुऔषध ल्याउने पक्राउ” शीर्षकको समाचार छापिएको छ । प्रहरीले कडाइ गर्न थालेपछि लागुऔषधको कारोबार गर्ने र प्रयोगकर्ताहरुले अवैध लागुऔषध नेपाल भित्र्याउने अनौठो तरिका अपनाउने गरेको पाइएको छ । मलद्धारमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको लागुऔषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । इलाका प्रहरी कार्यलय रानी विराटनगर र लागुऔषध ब्यूरो टालीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका–१० घर बताउने २२ वर्षीय रेजी शेर्पा र सोही ठाउँका २७ वर्षीय सुवास प्रधान लागुऔषधसहित पक्राउ परेका छन् । ‘प्रहरीले प्रायः जसो दिन विराउँदै लागुऔषध भित्र्याउने पक्राउ गर्दै आएको छ’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘मङ्गलबार पक्राउ परेका व्यक्तिले नयाँ तरिका अपनाएको देखियो । उनीहरुले शौच गरेपछि लागुऔषध बाहिर निकालेका थिए ।’ प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा उनीहरुलाई विराटनगर–१५ बाट पक्राउ गरेको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पहाडमा कमाउदैँ तराईमा थन्क्याउँदै” शीर्षकको समाचार छापिएको छ । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार निकै पुरानो बजारमा पर्छ । यति मात्र हैन ग्रामीण क्षेत्रमा भएपनि राम्रो चहलपहल तथा व्यावसायिक क्रियाकलाप हुने बजारको रुपमा स्थापित छ । तर यो बजारको विकास हुन सकेन । मध्यपहाडी लोकमार्ग पुगेपछि काया बदलिने अपेक्षा थियो, सुविदा पुग्यो तर स्वरुप बदलिएन । सडक पुगे यहाँका अधिकतम मान्छेको घडेरी, घर तथा जग्गा तराईतिर छ । प्रशस्त आम्दानीका श्रोत भए पनि यहाँको कमाई स्थानीय स्तरमा नहुदाँ बजार र आसपासका गाँउको विकास हुन सकेको देखिदैन । यस्तै उदाहरण भेटिन्छ पूर्वी पहाडका बजार तथा गाउँमा । पूर्वका पाँचथर, ताप्लेजुङ, तेह्रथुम जिल्लामा रहेर व्यापार व्यवसाय, ठेक्का पट्रटा, जागिर, कृषिफर्म गरेर कमाएको पैसा तराईमा लगानी गर्ने गरीन्छ । बजार तथा ग्रामिण क्षेत्रका आर्थिक रुपमा केही अगाडि रहेकाले तराईमा घरजग्गा हुने गरेको छ । यसैगरी नागरिक पूर्वेली दैनिकमा “विष खान नमानेपछि कुटपिट” शीर्षकको समाचार छापिएको छ । आफुसंगै विष खान नमानेपछि एक युवकले आफ्नै प्रेमिकामाथि निघात कुटपिट गरेका छन् । इलामको सन्दकपुर–३, सुलुबुङका ३३ वर्षीय सागर सुवेदीले त्यही वडाकी २७ वर्षीय सरिता रेश्मीमगरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । बुधबार दिउँसो ३ बजेतिर गाँउमै सागरले सरितालाई भगाई जंगलमा लगेर ‘दुवैजनाले विष खाउँ’ भनेको तर नमानेपछि सरितालाई कुटपिट गरी गम्भीर बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टंक भट्टराईले बताए ।सागरको कुटाईपछि घाइते अवस्थामा जंगलमा भेटिएकी सरितालाई जिल्ला अस्पताल ल्याइएको थियो । तर यहाँ उपचार नभएपछि उनलाई झापाको विएिन्डसी अस्पताल रेफर गरीएको छ । सागरलाई प्रहरीले पक्राउ गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकले “विपन्न परिवारलाई सरकारले हेरेन” गत पुष २७ गत्ते मोबाईलको ब्याट्री पड्कीएर ११ वर्षीय अमित शाहको मृत्यु हुदाँ प्रदेश १ सरकारले मृतक परिवारलाई सरकारको सहयोग स्वरुप १ लाख रुपैँया सहयोग गर्यो । ब्याट्री पड्कीदाँ ज्यान गुमाएको परिवारलाई राहत स्वरुप १ लाख रुपैँया सहयोग गरेको प्रदेश सरकारले शंकास्पदरुपमा हत्या गरिएकी बालिकाको परिवारलाई भने हालसम्म सहानुभूतिसमेत प्रकट गरेको छैन । शनिबार साँझ सम्पर्कविहीन भएकी विराटनगर ८ बलुवाहीकी ११ वर्षीय रुपमति दासको शवा आईतबार विहान सिंघिया खोला किनारमा भेटिएको थियो ।

औजार : आजको औजार दैनिकमा “२५ केजी भन्दै २२ केजी बेच्दै व्यापारी” शीर्षकको समाचार छापिएको छ । धरानमा चामल सप्लाई गर्ने कम्पनीहरुले उपभोक्तालाई ठगिरहेको रहस्य बाहिर आएको छ । धरान–१५ सदन स्कुल नजिकै रहेको धराने फास्ट फुडका सञ्चालक डेविड सुब्बाले खरिद गरेको २५ केजीको बोरामा २२ केजी मात्रै चामल भएपछि घटना बाहिर आएको हो । सुब्बाले धरान ९ स्थित याक्खा कोल्ड ड्रिंग्स सप्लायर्सबाट धनलक्ष्मी राईस ब्राण्डको चामल किनेर लगेका थिए । उनले चामल आफ्नो पसलमा पुर्याएपछि बोरा खोल्न खोज्दा एकपटकगरेको सिलाई खोले पुनः गरेको जस्तो देखेपछि शंका लागेर बोरा तौल गरेका थिए । बोरा तौल गर्दा २२ केजी मात्र थिए ।