उदयपुर : यातायात सुविधाको दृष्टिकोणले सदरमुकामको दुरदराजमध्येमा पर्ने पहाडी भेग रौतामाईको लाफागाँउमा बस सेवामा सञ्चालनमा आएको छ ।

गाँउपालिकाको भौतिक पूर्वाधार कार्यक्रमअन्र्तगत ग्रामीण सडक निर्माण भएपछि यसेसाता रौतामाई ३ लाफागाउँ गाइघाटदेखि सोझो यातायात सञ्जालमा जोडिएको हो । गत वर्ष खनेको कच्ची सडकलाई स्तरोन्नति गरेपछि गाईघाटदेखि साउने, रौतापोखरी, नामन्त, रँभुवा, भुट्रटार हुदै लाफागाउँसम्म बससेवा सुरु भएको हिमाली यातायात व्यावसायी केन्द्र गाइघाटले जनाएको छ । गाउँपालिका केन्द्र भुट्रटारदेखि लाफागाउँ जोड्न गत आर्थिक वर्ष गाउँपालिकाले कच्ची ट्रयाक निर्माण गरेको थियो । नयाँ ट्रयाकमा मोटरसाइकल भने ६ महिनाअघि नै सञ्चालनमा आइसकेकोमा चालु आर्थिक वर्षको बजेटले सडक स्तरोन्नति गरेपछि लाफागाउँ सम्म बस र जीप पनि सञ्चालनमा आएको हो । गाइघाट, साउने, रानीबास, रौता, नामन्ता, रभुवा हुदैँ भुट्रटार, सालथुम्का लाफागाँउ पुग्न ७१ किलोमिटर दुरी पार गर्नुपर्छ । गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको गाईघाट–साउने–रानीबासदेखि रौतापोखरी हुदै नामन्त, रभुवा, भुट्रटार ५५ किलोमिटरसंग जोडेर सालथुम्का हुदै लाफागाँउसम्म १६ किलोमिटर नयाँ सडक थपिएपछि बस चालु भएको गाँउपालिकाका वडाध्यक्ष गजेन्द्र खड्काले बताए ।

–नागरिक पूर्वेली