धरान: माघ २६ गतेदेखि शुरु हुने २१ औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको प्रचारप्रसार गर्न आयोजित बुढासुब्बा रेडबुल प्रमोशन कपमा धरान उपमहानगरपालिकाको टिम फाइनल प्रवेश गरेको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहिबार बिहान सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक धरान फुटबल क्लबको टिमलाई १–० गोलको झिनो अन्तरले हराउदै उपमहानगरले फाइनलमा पत्रकार महासंघसँग भेट पक्का गरेको हो । बुधबार पत्रकार महासंघ सुनसरीको टिमले एसिसि धरानलाई ६–० गोलअन्तरले हराउदै फाइनल यात्रा तय गरेको थियो ।

IMG_9768

बिहिबार खेलको एक मात्र निर्णायक गोल उपमहानगरका सुजन बस्नेतले दोस्रो हाफमा गरेका थिए । इशान राईले गरेको कर्नर प्रहारमा उनले हेडमार्फत सुन्दर गोल गरे । खेलको म्यान अफ दि म्याच पनि घोषित भएका सुजनले नगद ५ सय र मेडल हात पारे । उनलाई किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले पुरस्कार प्रदान गरेका थिए ।

IMG_9782 1

प्रमोशन कपको फाइनल शनिबार बिहान ८ बजे हुनेछ । फाइनलमा पत्रकार महासंघ सुनसरी र धरान उपमहानगरपालिकाको टिमबीच हुनेछ । विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी र उपाविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । बुढासुब्बा रेडबुल गोल्डकपको प्रर्वद्धन तथा प्रचारप्रसार गर्न आयोजक क्लबले केही बर्षयता प्रमोशन कप आयोजना गर्दै आएको छ । प्रमोशन कपमा धरानका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाउने गरेको छ । यसपाली विभिन्न ८ टिमले सहभागिता जनाएको थियो । बुढासुब्बा गोल्डकपको २१ औं सँस्करण यही माघ २६ गतेदेखि धरान १६ स्थित प्रस्ताविक प्रादेशिक रंगशालामा हुनेछ ।

IMG_9774