इनरुवा: सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ मा बन्न लागेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको काममा ढिलाई भएको छ ।

बस्ती निर्माणको काममा सुस्त गतिमा भएपछि पिछडिएको लक्षित समुदाय खुल्ला आकाश मुनि बस्न बाध्य छन् । सहरी विकास मन्त्रालयको सहयोगमा बन्न लागेको उक्त बस्तीमा ३५ घर निर्माण शुरु भएको थियो । घर निर्माण शुरु हुदा खुसी बनेका मुसहर समुदाय अहिले भने निर्माण अधुरो रहदा पुष माघको चिसो ठण्डीमा पनि खुला ठाउँमा कष्टकर जीवन जिउन बाध्य छन् । दिनभर ज्याला मजदुरी गरेर कमाएको पैसाले बेलुका खानमात्र पुग्ने समुदायमा विगत ७ महिनादेखी काम पनि नभएकोले चिन्तित छन् ।

बस्ती निर्माणको काम सुरु गर्दा सबैले खुसीका साथ हातेमाले गदै काम अगाडी बढेका थिए । हाल आएर बालबालिका र वृद्धाहरुलाई दिन काटाउन गाह्रो भएको स्थानीयबासीले बताउँछन् । उक्त बस्ती निर्माण कार्यकोे लागि ढुवानी समेत नभएको स्थानीय सिद्दी बिनायक हार्डवेयर सञ्चालक महाप्रसाद पौडेल बताउँछन् । उनले करिब २० लाख रकम बराबरको रकम ७ महिानादेखि फछ्रयौट नभएकाले उक्त पसल सञ्चालनमा समेत गाह्रो भएको गुनासो गरे ।यता वडा नम्बर ३ वडा अध्यक्ष राजकुमा चौधरी भने केही समय पछि काम हुने र ७५ प्रतिशत काम सम्पन्न भएकोे दाबी गर्छन् ।