धरान: धरान मोडल कलेज तथा कौशिकी क्याम्पस धरानले खेलकुद सप्ताह कार्यक्रम अन्तर्गत बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरानको छाताचोकमा आयोजित रक्तदानमा ४० पिन्ट रगत संकलन भएको थियो । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा कलेजका विद्यार्थीहरुले सहभागी भएको खेलकुद सप्ताह कार्यक्रमका मूल संयोजक प्रकाश कार्कीले बताए । कार्यक्रमका प्रमख अतिथि नेपाल रेडक्रस सोसाईटी सुनसरीका मन्त्री मुकुल कायस्थले रगत कही कतैबाट उत्पादन गर्न नसकिने र मानिसले नै रक्तदान गरेर दिनुको कुनै विकल्प नभएको बताए ।

सप्ताहव्यापी कार्यक्रममा मिनि म्याराथुन, हाजिरी जवाफ, वक्तृत्वकला, कविता वाचन, फुटवल, टेबलटेनिस, चेस, चाईनिज चेकर, क्यारामबोर्ड प्रतियोगितामा विद्यार्थीहरुले प्रतिस्पर्धा जनाइरहेका छन् । त्यसैगरी, सरसफाई कार्यक्रम पनि आयोजना गरिएको कलेजले जानकारी दिएको छ । विद्यार्थीहरुको लागि कितावी ज्ञान मात्र नभएर क्षमता, नेतृत्व तथा व्यावहारिक ज्ञानको विकासको लागि पनि सप्ताह कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।