तेह्रथुम: तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको श्रीजुङसम्म दैनिक सेवा सुरु भएको छ ।

विहीबार धरानबाट जिरिखिम्ती, मोराहाङ हुँदै श्रीजुङसम्म पहिलो पटक बस पुगेको हो । गाउँसम्म नै बस पुगेपछि स्थानीयबासीले बस चालक र व्यवसायीलाई भव्य स्वागत समेत गरेका छन् । मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ हुँदै श्रीजुङसम्म पहिलो पटक ना ५ ख ३७४७ नम्बरको हलेसी यातायातको बस पुगेको यातायात व्यवसायी डिल्ली रेग्मीले जानकारी दिए । उनका अनुसार गाउँबासीको मागलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गरिएको हो ।

गाउँसम्म बस आउन थालेपछि अब श्रीजुङबासीलाई गाउँबाटै पुर्वी तराईसम्म सीधा बसमार्फत आवत् जावत् गर्न सहज भएको छ । यसअघि श्रीजुङसम्म साना भाडाका सवारी साधनहरु मात्रै पुग्ने गरेका थिए । बस चढ्न श्रीजुङका बासिन्दा मोराहाङसम्म जान बाध्य थिए । गाउँबाटै बस सेवा सुचारु भएपछि गाउँबासीलाई सहज भएको स्थानीय योगेश भटराईले बताए ।