झापा: झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट रात्रीकालीन विमान हवाई सेवा पनि शुरु भएको छ ।

अघिल्लो दिन सफलतापुर्वक परीक्षण उडान भएको विमानस्थलबाट बिहिबार राती प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । प्रधानमन्त्री ओली रात्रीकालिन उडानबाट राजधानी फर्किएका छन् । नेपाल सरकारका सँस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आजबाट रात्रीकालीन हवाई सेवा शुरु भइसकेको जानकारी दिएका छन् ।

मन्त्री अधिकारीले फेसबुक पेजमार्फत प्रधानमन्त्री ओलीको उडानसँगै औपचारिकरुपमा रात्रीकालिन उडान सुरु भएको जानकारी दिएका छन् । मन्त्री अधिकारीका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा विराटनगर विमानस्थलमा विगत ५ महिना अघिदेखि नै रात्रीकालीन उडान सञ्चालनमा रहेको छ । अबको २ महिना पछि जनकपुरमा रात्रीकालीन उडान हुदैछ, मन्त्री अधिकारीले फेसबुक पेजमा लेखेका छन् ।

51161286_1815544668549505_7

बुधबार बुद्ध एयरले चन्द्रगढी विमानस्थलबाट रात्रीकालिन विमानको उडानको सफलतापूर्वक परीक्षण गरेको थियो । विमानस्थलमा जडान गरिएको आरएनएभीको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले रातको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । अहिले भद्रपुरमा बुद्धका नियमित दुई उडान सञ्चालनमा छ ।

विसं २०२६ बाट चन्द्रगढी–काठमाडौँ उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको छ । यहाँबाट दैनिक बुद्धएयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौँसम्मका उडान भरिरहेका छन् । फ्रेबु्रअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले जनाएको छ ।

50879296_1815544598549512_2