ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “गैरकानुनी एलेन कलेजलाई कारबाहीको आदेश” शीर्षकको समाचार छापिएको छ । गैरकानुनी रुपमा इनरुवामा सञ्चालित एलेन कलेज अफ इञ्जिनियरीङ प्रालिलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरी कार्यालयलाई आदेश दिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद – सिटीइभिटी) को पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीको पत्रलाई आधार मान्दैँ सुनसरी प्रशासनले कलेजउपर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्राचार गरेको हो । सिटीइभिटी इटहरीका निर्देशक डा. शिवप्रसाद दाहालद्वारा हस्ताक्षरित अनुरोध पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएसंगै एलेन कलेजउपर काबाहीको प्रक्रिया अघि बढेको हो । क्षेत्रीय निर्देशक डा. दाहालद्वारा हस्ताक्षरित अनुरोध पत्रमा इनरुवा–१ मा रहेको एलेन कलेज अफ इञ्जिनियरिङ प्रालिले सिटिइभिटीको सम्बन्धन प्राप्त भनी विज्ञापन गरी विभिन्न किसिमका प्रलोभन देखाई बढी शुल्क लिएर कम्प्युटर सिस्टम एडमिनिष्टे«सन एण्ड डेभलोप्मेण्ट १३ सय २० घण्टाको कार्यक्रम गैरकानुनी रुपमा सञ्चालन गरिरहेको पाइएकोले उक्त संस्थाको सो कार्यक्रम बन्द गराई पीडित प्रशिक्षार्थिलाई क्षतिपूर्ति दिलाउन आवश्यक कारबाही अगाडि बढनउन अनुरोध गरेको छ ।

पूर्वेली नागरिक : आजको नागरिक पूर्वेली दैनिकको पहिलो पृष्ठमा “प्रकाण्डका छोरा गोलीसहित पक्राउ” शीर्षकको समाचार छापिएको छ । विराटनगर विमानस्थलबाट बिहीबार साँझ नेकपाका प्रवक्ताका छोरालाई प्रहरीले पक्राउ गरेको छ । कालिकोट घर भएका २७ वर्षका नरेन्द्र विश्वकर्मालाई प्रहरीले काठमाण्डौँ जाने क्रममा विमानस्थलमा जाँचका क्रममा गोली सहित पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘विमानस्थलमा यात्रु सुरक्षा जाँचको क्रममा गोली फेलापरेपछि नरेन्द्रलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएका हौँ ।’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड का छोरा नरेन्द्रलाई विमानस्थल यात्रु जाँचका क्रममा गोलीसहित पक्राउ गरेका हुन । यति एयरलाईन्सको विहिबार साँझ ५ः५५ को उडानबाट काठमाण्डौँ जाने क्रममा विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीन वटा गोली बरामद भएको प्रहरीले बताएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बाटोको विवाद सुल्झिएपछि पुलको विवाद” शीर्षकको समाचार छापिएको छ । मदन भण्डारी मार्गका विषयमा विभिन्न टिका–टिप्पनीबिच आन्तरिक दन्द्ध बढिरहेका बेला केराबारी गाउँपालिकाले बाटोको मापदण्डबारे संस्थागत धारणा सार्वजनिक गरेको छ । सरकारले यसैवर्षदेखि निर्माण सञ्चालन गर्ने गरी चुरेफेदीको वैकल्पिक बाटोलाई मदन भण्डारी मार्गका रुपमा अघि बढाई अर्बौको बजेट छुट्याएको छ । तर सडकको मापदण्डबारेको अन्यौलका कारण स्थानीय तहमा विभिन्न समूहबिच आन्तरिक दन्द्ध बढिरहेका बेला विहिबार गाउँपालिकाले आधिकारिक धारणा सार्वजनिक गरेको हो । केराबारी बजार क्षेत्रमा दुई÷दुई मिटर फुटपाथबाहेक ७ देखी ११ मिटरसम्म कालोपत्रे गर्ने सरकारको धारणा रहेकोले सो मापदण्डले गाउँपालिकालाई कुनै असर नपर्ने भएकाले सरोकारवालाहरुलाई सडक निर्माणमा अवरोध नगर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । निर्णय सार्वजनिक गर्नुअघि केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की र कार्यकारी प्रमुख पुण्यप्रसाद पौड्याललगायतको टोली सडक विभागका सम्बन्धित मन्त्रालयमा भेटघाट गरेका थिए । पुलको विवाद सुरु...... यसैविच मदन भण्डारी मार्गबारे चल्ने गरेका अधिकांश हल्ला प्रापोकाण्डका रुपमा आउने गरेको पाइएको छ । गाउँपालिकाले बाटोको मापदण्डबारे स्पष्ट धारणा सार्वजनिक गरेर विवाद सुल्झाएको दाबी गरे पनि पुल राख्ने विषयमा सरोकारवाला बीच अर्को विवाद सुरु भएको छ । सरकारले गुगल म्याप अनुसार नै ५० सय मिटर तल–माथि हुने गरी बाटोको सर्भे गरेको भए पनि केराबारीको खदम खोलामा पुल कहाँ लगाउने भन्ने विषयमा विवाद सुरु भएको छ ।

औजार : आजको औजार दैनिकमा “सुनसरीमा धानजोन कार्यक्रम” शीर्षकको समाचार छापिएको छ । सुनसरी विभिन्न नगरपालिकाको ६ स्थानमा धानजोन कार्यक्रम लागु भएको जनाएको छ । नेपाल सरकारको पूर्ण लगानीमा आफ्नै मौलिक भएको प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना इकाई–अन्तरगत धानजोन कार्यक्रम सुनसरीको ६ स्थानमा सञ्चालन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई धानजोन कार्यक्रमको योजना तर्जुमा गोष्ठी मार्फत सो जानकारी दिएको हो । योजना तर्जुमा गोष्ठीमा दिएको जानकारी अनुसार सुनसरीको दुहवी नगरपालिका क्षेत्रको तनमुना र पूर्वकुशाहा, गढी गाउँपालिकाको छिटाहा र रामधुनीको बक्लौरी र इटहरीको एक्मबा क्षेत्रका किसानले धानजोनबाट लाभ पाउने गरी धान जोन कार्यक्रम सत्तचालन भएको जनाएको छ ।