काठमाण्डौँ : टि–२० क्रिकेटमा नेपालका युवा खेलाडी सन्दीप जोराले अर्धशतक बनाउने विश्वकै कान्छा ब्याट्सम्यानको रेकर्ड बनाएका छन् ।
सन्दीपले टी–२० डेब्युमै विश्वकीर्तिमान कायम गरेको हो । यसअघि यो कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो ।

बिहीबार युएईविरुद्धको पहिलो टी–२० मा सन्दीपले ५३ रनको नटआउट इनिङ खेलेका थिए । उनले १७ वर्ष १ सय ३ दिन उमेरमा अर्धशतक बनाए । उनले दुबईस्थित आइसिसी एकेडेमी मैदानमा ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सन् २०१० मा आयरल्यान्डविरुद्ध अर्धशतकीय विश्वकीर्तिमान बनाउँदा हिरल १८ वर्ष १ सय ७७ दिनका थिए ।

डेब्युमै अर्धशतक बनाउनेमा भने सन्दीप विश्वको २० औँ ब्याट्सम्यानको सूचीमा परेको छ । व्यक्तिगत धेरै रन बनाउने सूचीको १९ औँ स्थानमा रहे । सन्दीपको अर्धशतकीय इनिङका बाबजुद नेपाल पहिलो खेलमा २१ रनले पराजित भयो ।

धनगढी स्थायी घर भएका सन्दीपले यू–१९ उमेर समूहबाट राष्ट्रिय टोलीमा स्थान बनाएको हो । उनले यू–१९ राष्ट्रिय टोलीबाट आधिकारिक रूपमा तीन खेल खेलेका छन् । उमेर समूहमा भने उनले यू–१९ एसिया कपमा युएईविरुद्ध डेब्यु गरेका थिए । सो खेलमा ७४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६७ रनको योगदान दिएका थिए ।

घरेलु टी–२० लिगमा प्रभाव जमाएका सन्दीप तेस्रो संस्करणको धनगढी प्रिमियर लिगकै महँगा खेलाडीमध्ये पर्छन् । उनलाई सिवाइसी अत्तरियाले दुई लाख ३० हजारमा अनुबन्ध गरेको छ ।