इनरुवा: सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ भाण्टावारीमा महिला क्रिकेट सम्पन्न भएको छ ।

भण्टावारी ८ स्थित खेल मैदानमा बिहिबार सप्तरी र लहानबीच मैत्रीपुर्ण महिला क्रिकेट आयोजना गरिएको थियो । मैत्रीपुर्ण खेलमा सप्तरीले लहानलाई ४७ रनले हराउँदै विजयी भएको छ । टस जितेर पहिल्यै ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो । जवाफमा १ सय १८ रन चुनौती पछ्याउँदै ब्याटिङ गरेको लहानले ५ विकेट गुमाएर मात्र ७० रन बनाउन सक्यो ।

भाण्टावारीमा पहिलोपटक सेव द सुनसरीले आयोजना गरेको मैत्रीपुर्ण महिला क्रिकेट हेर्ने महिला दर्शकको संख्या भरिभराउ थियो । मैत्रीपुर्ण टि २० क्रिकेट खेलको विजेता सप्तरीले नगद ११ हजार पुरस्कार र उपविजेता लहानले ५ हजार सहित सिल्ड, मेडल वितरण गरिएको आयोजकले जनाएको छ । विजेता महिला खेलाडीलाई आयोजक सेव द सुनसरीका अध्यक्ष तजमुल मन्सुरीले पुरस्कार वितरण गरेका थिए भने उपविजेता टिमका खेलाडी लाई सचिव सत्रुघन चौधरीले वितरण गरे ।

सेव द सुनसरीले आयोजना गरेको टि २० क्रिकेट प्रतियोगितामा भारतको सुपौल र शंकरपुर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता फाइनल खेलमा सुपौल र शंकरपुरले शनिबार उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन् । यसैबीच शुक्रबार मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता अन्तर्गत भूतपूर्व खेलाडीहरुको खेल आयोजना हुदैछ । शुक्रबार हर्का टिम र खिचडी टिमबीच खेल हुने आयोजकले जनाएको छ ।