ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “पहाडमा पानीका मुहान सुक्दै” शीर्षकको समाचार छापिएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–३ का गोमबहादुर तामाङले थाहाँ पाउँदा घरैमाथिको भिरको फेदमा पानीको फेदमा कुवा थियो । सो कुवामा बाह्रैमास पानी सुक्दैनथ्यो । त्यतिबेला पानी घरसम्म ल्याउनका लागि कि भाँडो लिएर कुवासम्म जानुपथ्र्यो, कि त बासँको डुँड बनाएर घरसम्म पानी ल्याउनुपथ्र्यो । तामाङको बुबाले पनि बाँसको डुँड बनाएर घरसम्म पानी ल्याएका थिए । त्यही पानीको माध्यमबाट घरपरिवारलाई मनग्गै पुग्थ्यो । सागसब्जीमा पनि लगाउँथे । तर केही वर्ष अघिदेखि त्यो कुवा सुकेको तामाङ बताउँछन् । जिल्लाकै मिक्वाखोला गाउँपालिका वडा नं. ३ का वीरबहादुर लिवाङको पनि खेतको बीचमा पानीको मुहान थियो । मुहानको थोरै तलतिरबाट सावाँ जाने सडक खनिएको छ । सडक खन्नुअघिसम्म त्यहाँबाट निस्किएको पानीले खेती लगाउँथे । तर अहिले त्यो पानीको मुहान नै सुकेको छ । तामाङ र लिवाङ जस्तै आफनै जीवनकालमा पानीको मुहान सुकेको देख्ने स्थानीय निकै छन् । गाउँका बुढापाकाका अनुसार ग्रामीणक्षेत्रका पानीका केही मुहान पूर्णरुपमा सुकेका छन् । स्थानीय तहले धमाधम जथाभावी सडक खन्न थालेपछि यो क्रम अझ बढेको स्थानीयको अनुभव छ । डोजर र एक्जाभेटरको अन्धाधुन्ध प्रयोगले पानीका श्रोत सुक्न थालेको सावदेनका मिलन लिम्बुले बताए । जसका कारण धान फल्ने खेतसमेत बाझिएका छन् । पालिकाहरुले सडक बनाउँदा अपवादबाहेक वातावरणीय प्रभाव मुल्याङ्कन गराएका छैनन् । मनलाग्दी बाटो खनेका छन् । “गाडी किन्ने पैसाले विपन्नलाई टिनको छाना” शीर्षकको समाचार पनि आजको ब्लाष्ट टाइम्समा छापिएको छ । उत्तरी मोरङको लेटाङ नगरपालिका प्रमुख शंकर राईले आफ्ना लागि गाडी खरी दगर्ने रहमबाट नगरका विपन्नलाई जस्तापाताको छाना लगाइदिने अभियान थालेका छन् । नगरप्रमुअ राईले ‘मेरो सुविधा कटाइ देउ, लेटाङ नगरका फुसका छाना हटाइ देउ’ को नारा अघि सार्दै गाडी किन्न दोश्रो नगरसभाबाट छुट्याएको सम्पूर्ण रकमबाट जस्तापाताको छाना लगाउने अभियान सुरु गरेका हुन् । गत वर्षदेखि सुरु गरिएको अभियानको निरन्तरता रुवरुप यसवर्ष छनौटमा परेका ७० घरधुरीलाई शुक्रबार जस्तापाता वितरण गरिएको छ । प्रतिघरधुरी साढे तीन बन्डलको मूल्य ३५ हजार रुपैयाँका दरले २५ लाख रुपैयाँको रङ्गीन जस्तापाता वितरण गरिएको हो ।

उद्घोष : आजको उद्घोष दैनिकमा “प्रेमीसंग मिलेर श्रीमानको हत्या” शीर्षकको समाचार छापिएको छ । प्रेमीसंग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । गत कात्तिक १७ गत्ते हिलेमा लागेको मिनी मेलामा इटहरी १५ का रामबाबु चौधरीको हत्या भएको थियो । घटना भएको तीन महिनापछि प्रहरीले हत्यामा संलग्न रामबाबुकी श्रीमती २९ वर्षीय प्रिया चौधरी र धनकुटाको साघुँरीगढी ९ घर भई सुनसरीको बराहक्षेत्र ५ बस्दै आएका ३१ वर्षीय सविन राईलाई पक्राउ गरेपछि घटनाको रहस्य पत्ता लागेको हो । प्रिया र सविन प्रेम सम्बन्धमा रहेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र धनकुटाको प्रहरी टोलीले तीन महिनापछी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ गरीएका दुवैलाई शुक्रबार धनकुटामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको छ । प्रिया र सविनको प्रेम सम्बन्धका कारण रामबाबुको हत्या भएको रहस्य अनुसन्धानबाट खुलेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “प्रहरी–तस्कर गोली हानाहान” शीर्षकको समाचार छापिएको छ । लागुपदार्थ तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको सप्तरीको गोबरगाढा टापुमा त्यही निहुँले हिंसात्मक रुप लिन थालेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा टापु क्षेत्रमा शुक्रबार राति गाजाँ तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ । त्यसक्रममा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपति एसपी खेमबहादुर थापाका अनुसार गोप्य सूचनाका आधारमा गाँजा तस्करलाई पछ्याएको सशस्त्र प्रहरी टोलीमाथि तस्करहरुले दुई राउण्ड गोली प्रहार गरेका थिए । सशस्त्र प्रहरीले पनि एक राउण्ड हवाई फाएर गरेको गणपति थापाले जानकारी दिए । सशस्त्र प्रहरीको तर्फबाट जवाफी फायरीङ भएपछि तस्करहरुको भागाभाग भएको उनले बताए । सोहीक्रममा सशस्त्र प्रहरी टोलीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ । यसैगरी “सरकारी गाडीको दुरुपयोग बढ्यो” शीर्षकको समाचार आजको नागरिक पूर्वेलीमा छापिएको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा सरकारी सवारीसाधनको दुरुपयोग बढेको छ । विदाको दिनदेखि व्यक्तिगत काममै पनि सरकारी गाडीको दुरुपयोग बढेको हो । सदरमुकाम फुङ्लिङमा भएको एउटा सर्वपक्षीय भेलामा ताप्लेजुङका प्रमुख जिलला अधिकारी अनुज भण्डारी निकै आक्रामक रुपमा प्रस्तुत भए । उनी आक्रामक बन्नुको कारण थियो, ‘सरकारी गाडीको दुरुपयोगसम्बन्धी गुनासा’ । प्रजिअ भण्डारीलाई सरकारी गाडी दुरुपयोग सम्बन्धमा धेरै सर्वसाधारणले गुनासा गर्न थालेका रहेछन् । सरकारी सवारी साधनको दुरुपयोग सम्बन्धमा केहीले त दुरुपयोग हुने गरेका गाडीका तस्विर नै खिचेर सामाजिक सञ्जालमा भाइरल बनाईदिए ।