धरान (डेस्क) : इन्धनको मूल्यमा फेरी वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर बढाएको हो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयामा उपलब्ध हुनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ९७ रूपैया प्रतिलिटर पर्नेछ ।
भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार निगमलाई पेट्रोल २ रूपैयाँ २५ पैसा र डिजेल ४ रूपैयाँ २८ पैसा महँगो पर्नेछ । यसअघि पनि मूल्य बढेर आएपनि निगमले नेपाली बजारमा तेलको भाउ बढाएको थिएन ।
दसैं तिहार समयमा घाटामा तेल बेचेको निगमको अझै १ अर्ब ६ करोड घाटापूर्ति हुन बाँकी छ । नयाँ मूल्यअनुसार निगमलाई १५ दिनमा १ अर्ब १६ करोड रूपैयाँ नाफा हुनेछ । निगमले अहिले ग्यास सिलिन्डर मात्रै घाटामा बेचिरहेको छ ।