झापाः गौरीगञ्ज ५ र ६ स्थित तल्लो रामचन्द्रे सिँचाइ योजनाको निर्माण कार्य धमाधम भईरहेको छ । उक्त योजनाको पुस ९ गते प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विधिवत सिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको हो ।

सिचाई योजनाबाट ७ सय बिघाभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने गरी तल्लो रामचन्द्रे सिँचाइ योजनाको निर्माण कार्य भईरहेको झापा जिल्ला सिचाई डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीले बताए । सिँचाई योजना दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी नयाँ बाटो सिवाको सताक्षी जेभीसंग ठेक्का सम्झौता भएको छ । प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयले भ्याटसहित ८ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको राजवंशीले बताए । सिँचाइ योजनामा ४.२ किलोमिटर मूल नहर र ४.५ किलोमिटरका दुई वटा शाखा नहर निर्माण गरिने उनले बताए ।

सिँचाइ योजनाहरू निर्माण भएपछि विशेषगरी गौरीगञ्ज क्षेत्रका किसानले आफ्नो उत्पादन क्षमता बढाउन सक्ने गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले समग्र किसानको भलाइ हुने भएकाले सिँचाइ योजना निर्माण कार्यमा सबैले सहयोग गर्नुपर्ने आग्रह गरेका छन् ।   सिचाई योजनाको क्यानल खन्ने क्रममा क्षति भए र भए गरेका कार्यको रेखदेखका लागि अनुगमन समिति र मुल्यांकन समिति गठन गरिएको छ । स्थानिय कृषकहरू सहभागिमा सहदेब खडकाको संयोजकत्वमा अनुगमन समिति र धनकुमार थापाको संयोजकत्वमा मुल्यांकन समिति गठन गरिएको सिचाइ आयोजनाका अध्यक्ष मानबहादुर राजवंशीले बताए । गौरीगन्ज गाउँपालिको वार्ड नं ५ र ६ लगायत क्षेत्रमा सिँचाइ सुविधाबाट वर्षौंदेखि सिँचाइ अभाव खेप्दै आएका दक्षिण–पश्चिम झापाका किसानलाई लक्षित गरी सिँचाइ योजना निर्माण थालिएको छ ।