विराटनगर: एक साताघि छिमेकीको घरमा टिभि हेर्न गएकी विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा बलुवाईकी एक बालिकाको बलात्कार पछि हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार  राती छिमेकीको घरमा टिभी हेर्न गएकी १० बर्षीय रुपमति दासको भोलीपल्ट सिंगिया खोला किनारमा निर्वस्त्र अवस्थामा शव भेटिएको थियो । राम प्रसाद र मनीदेवी दासको दुई छोरी मध्येकी उनी कान्छी छोरी थिइन् । स्थानिय नारायणी स्कूलमा कक्षा १ मा अध्ययरत थिइन् । घटनाको एक साताभित्रै जिल्ला प्रहरी कार्यालय मोरङले रुपमतिको बलात्कार पछि हत्या गर्ने दुई व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १९ बर्षीय चन्दु महतो र २५ बर्षीय भुट्टु भनिने अब्बास अन्सारी पक्राउ परेका छन् । दुवैले बालिकाको बलात्कार गरी हत्या गरेको प्रहरीको दाबी छ । दुवै जना लागुऔषध दुव्र्यसनी पनि भएको प्रहरीले जानकारी दिएको छ । दुवै जना मृतकका छिमेकी भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

51752280_10213326739351712_7216869341726244864_n

मोरङ प्रहरीका अनुसार दुवैले रुपमतिलाई मुख बन्द गरेर घरदेखि करिब पाँच सय मिटर दुरीमा रहेको खोला किनारको डिलमा लगेर बलात्कार गरेका थिए । बालिकाले चिच्याउन थालेपछि दुवैले घाटी र मुख थिचेर पालैपालो बलात्कार गरेको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । त्यसक्रममा बालिकाको मृत्यु भएको र कोही मान्छे आएको थाह पाएपछि रुपमतिलाई खोलाभित्र हालेर उनीहरु भागेका थिए । पानीले धेरै प्रमाण नष्ट भएकोले पनि अनुसन्धानमा निक्कै सास्ती व्यहोर्नुपरेको प्रहरी बताउँछ ।

रुपमतिका बुबा रामप्रसादले रिक्सा चलाएर परिवारको गुजारा गर्छन् । उनका ७ र ६ वर्षका छोराहरु पनि छन् भने १२ वर्षकी जेठी छोरी पनि छन् । गत आइतबार बालिकाको शव भेटिएपछि मोरङ प्रहरीले डिएसपी कृष्णप्रसाद खड्काको कमाण्डमा अनुसन्धान टोली परिचालन गरेको थियो । मृतकले लगाएको चप्पल घर नजिकै चौरबाट बरामद गरेपनि कपडा फेला पर्न सकेको थिएन ।