इटहरी: मोरङको सुन्दरहरैचामा आगामी फागुन ४ गतेदेखि तेस्रो सुन्दरहरैचा एक्स्पो हुने भएको छ ।

सुन्दरदुलारी उघोग बाणिज्य संघको आयोजनामा फागुन ४ गतेदेखि १२ गतेसम्म गछिया खेल मैदानमा आयोजना हुने आइतबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ । कृषि, पर्यटन, औद्योगिक उत्पादन तथा प्रविधि प्रबद्र्धन साथै कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायिक प्रदर्शनका लागि उक्त एक्स्पो सञ्चालन गर्न लागिएको संघले जनाएको छ ।

२०७१ मा उद्योग बाणिज्य संघ स्थापना भएसँगै यहाँको विभिन्न काममा अगुवाई गर्दै आएको छ । संघका अध्यक्ष तथा महोत्सव संयोजक किशोर कार्कीले महोत्सवमा एक सय ८५ वटा स्टल रहने बताए । यसअघिका महोत्सव सफल भएको दाबी गर्दै उनले ३ लाख बढी दर्शक आउने अनुमान गरे । एक्स्पोमा ७५ लाख खर्च अनुमान गरिएको छ भने १० देखि १५ करोड कारोबार हुने अनुमान छ । एक्स्पोबाट खर्च कटाई बचेको रकमबाट सिटि हल निर्माण तथा सार्वजनिक शौचालय निर्माण गरिने आयोजकले बताए ।

एक्सोमा ५० रुपैया टिकट दर राखिएको छ । कार्यक्रममा हेलि टुरको समेत व्यवस्था रहेको छ । स्थानीयरुपमा हेलिकप्टरबाट दृष्य अवलोकन गर्न ५ हजार र पाथिभरा दर्शनको प्रति व्यक्ति ३५ हजार शुल्क राखिएको संस्थाले जनाएको छ । कार्यक्रममा गायक प्रमोद खरेल, आस्था राउत, धुर्मुस सुन्तली, राजन राज सिवाकोटी, मेलिना राई तथा अन्य राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमा उट, हात्ती, घोडा, अष्ट्रिज, भेडा, टर्कीको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । त्यस्तै, नेपालकै होची महिला मालती ऋषिदेवलाई समेत राखिनेछ । बजार प्रबद्र्धन साथै स्थानीय ठाउँको बजार बिस्तारका लागि एक्स्पोको आयोजना गर्न लागिएको कार्यक्रम सह–संयोजक नागेश पोखरेलले बताए ।