विर्तामोड:झापा जिल्लाको शिवसताक्षी नगरपालिका र इलाम जिल्लाको माई नगरपालिकाको संगममा अवस्थित दोमुखाको पर्यटन विकासमा संयुक्त राज्य अमेरिकास्थित सांग्रीला आइएनसीले विदेशी लगानी ल्याउने भएको छ ।

आइतबार शिवसताक्षी नगरपालिकाले माइधारमा दोमुखा पर्यटकीय क्षेत्र विकासबारे आयोजित छलफलमा दुवै नगरको अनुमतिमा सांग्रीला आइएनसीले विदेशी लगानी ल्याउन लागेको जानकारी दिइएको हो । संग्रीलाले लगानी ल्याउनेबारे दुवै नगरका जनप्रतिनिधिहरुसँग छलफल शुरु गरेको छ । झापा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरु मध्ये प्रचुर सम्भावना बोकेको झापा र इलाम दुवैको साझा सम्पत्तिकोरुपमा दोमुखा रहेको छ । पहाड र तराइको संगमस्थल रहेको दोमुखा प्राकृतिक रुपमा पनि सुन्दर छ । साथै,गर्मी याममा पनि सितल महसुस हुने र यातायातको पहुँचले पनि यहाँसम्म पर्यटकहरुको घुइचो लाग्नेगर्छ ।

IMG_1342

संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुको सहभागिता सांग्रीला आइएनसी नामक संस्था स्थापना भएको हो । यो संस्थाले दोमुखा क्षेत्रका सम्भावनाहरुलाई लिपिवद्ध गरेको छ । संस्थाले दुवै नगरको आयश्रोत बृद्धि गर्दै विभिन्न गतिविधि सञ्चालनको लागि दुवै नगरका जनप्रतिनिधि र कर्मचारीसँगको छलफललाई पनि तिब्र बनाएको छ । दोमुखा क्षेत्रको विकासमा सांग्रीलाले देखाएको चासोमा दुवै नगरले सहकार्य गरे इलाम र झापाको मात्र होइन, दोमुखा प्रदेश नं. १ कै नमुना पर्यटकीय क्षेत्र बन्ने नेपालमा कार्यरत सांग्रीला आइएनसीका प्रमुख सुजन सिवाकोटी बताउँछन् ।

स्काइपको माध्यमबाट अमेरिकाबाट सांग्रीला आइएनसीका प्रतिनिधि दिनेश सिवाकोटीले दुवै नगरका जनप्रतिनिधि र कर्मचारीबीचमा संस्थाको अवधारणा एवं योजना प्रस्तुत गरेका थिए । उनले अमेरिकाकै प्रविधि अपनाइने र यहाँ उपलब्ध नहुने सामाग्री पनि अमेरिकाबाटै ल्याउने बताएका थिए । इन्जिनियर पनि अमेरिकाकै हुने उनको भनाई थियो । जस्ले गर्दा पर्यटकीय विकासका गुणस्तरीय तथा समयमै काम सम्पन्न हुने र यस क्षेत्रको आर्थिक उपलब्धीको सम्भावना वलियो हुने संस्थाले जनाएको छ ।

IMG_1333

राज्यले २३ करोड लगानीमा दोमुखाको विकासको लागि गुरुयोजना बनाएर अघिबढेको छ । यस आर्थिक वर्षमा शिवसताक्षी गगरपालीकाबाट ५० लाख र प्रदेश सरकारबाट ५० लाख गरी एक करोडको बजेट दोमुखा पर्यटकीय क्षेत्रको विकासमा विनियोजन भएको छ । दोमुखा पर्यटीय विकास समितिका अध्यक्ष धनप्रसाद लावती टुक्रे बजेटबाट गुरुयोजना अनुसार पुरा हुन बषौं लाग्ने बताउँछन् । 'यसरी वर्षमा एक एक करोडका दरले मात्र बजेट आउने हो भने यसको विकास गर्न बषौं बर्ष लाग्छ, र यस्ले कुनै पनि प्रतिफल दिदैन,'उनी भन्छन ।

इलामको माइ नगरपालिकाकी उप प्रमुख विष्णुमाया रिमाल सबैको राय,सल्लाह र सुझाव लिएर नै देमुखाको पर्यटकीय विकासका योजनाहरु सञ्चालन गर्ने बताउँछिन् । मेयर दिपक थेवे भने प्रतिफल झापाको शिवसताक्षी नगरले मात्र पाउदा आफ्नो नगरको आयश्रोतमा कुनै सकारात्मक प्रभाव नपर्ने भएकोले दोमुखा पर्यटकीय क्षेत्रबाट हुने आयश्रोत बाँडफाटमा पनि ध्यान पुग्न आवश्यक भएको बताउँछन् । उनी भन्छन्,'दोमुखाको पर्यटकीय सम्भावनालाई मुहुर्त रुप दिएपछि यहाँबाट आउने आयश्रोतमा माइ नगरपालिकालाई कसरी सम्बोधन गर्ने ? त्यसतर्फ पनि आवश्यक छलफल र गृहकार्य हुन जरुरी छ ।' 
दोमुखाको पर्यटकीय क्षेत्र विकासमा माई र शिवसताक्षी दुवै नगरको भुमिका समान हुनुपर्ने बताउदै शिवसताक्षीका मेयर चन्द्रकुमार शेर्मा भन्छन्,'दुवै नगरको चासो र लगानी बराबर रहेपछी यहाँबाट आउने आयश्रोतमा पनि दुवै नगरको हैसियत बराबर नै रहन्छ ।'

IMG_1331 IMG_1329