धरान(डेस्क):युएईसँगको टि ट्वान्टी क्रिकेटको अन्तिम खेलमा आज जित हात पार्दै टि २० श्रृंखलाको पनि नेपालले २-१ ले कब्जा जमाएको छ ।

युएईविरुद्ध नै एक दिवसिय क्रिकेट श्रृंखलाको उपाधि पनि जितिसकेको नेपालले आज टि ट्वान्टी श्रृंखलामा पनि ऐतिहासिक उपलब्धी हासिल गरेको हो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा श्रृंखलाको तेस्रो खेलमा नेपालले युएईलाई १४ रनले हरायो । नेपालको जितको लागि एकै ओभरमा २ विकेट लिएर महत्वपुर्ण योगदान दिएका करण केसी म्यान अफ दि म्याच भएका थिए ।

टस जितेर युएईले पहिला फिल्डिंग रोजेको थियो । बर्षाको कारण १० ओभरमा सिमित पारिएको खेलमा नेपालले आठ विकेटको क्षतिमा युएईलाई १०५ रनको लक्ष्य दिएको थियो । यूएईले राम्रो सुरुवात गरे पनि नेपाली वलरले ब्याटिंग लाइन धरासायी बनाएपछि १०५ रनको लक्ष्य भेट्याउन सकेन । नेपालका वलर सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले युएईको महत्वपूर्ण विकेट लिए। नेपालको लागि पारस खड्काले २९ र सन्दीप जोराले महत्वपुर्ण २८ रन जोडे ।

पहिलो, दोस्रो र तेस्रो ओभरमा नेपालका पवन शरार्फ शुन्यमा, ज्ञानेन्द्र मल्ल ११ रनमा र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुन पुगेका थिए । यस्तै, करण केसीले १० रन बनाए भने बिनोदले २१ रन बनाएर आउट भए । नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएई ९० रनमा समेटिएको थियो । श्रृंंखलाको अघिल्लो दुई खेलमा नेपाल र यूएईले एक(एक जित हासिल गरेकोले आजको खेल दुवैको लागि महत्वपुर्ण थियो ।