इनरुवा : सुनसरीको गढी गाउँपालिकामा अनियमिताको आशंका गर्दै त्यसको पूर्ण विवरण माग्दै सुनसरीका पत्रकारहरुले सूचना माग गरेका छन् ।

गढी गाउँपालिकाले अपारदर्शी रुपमा ठुलो परिणामको रकम झ्वाम पारेको जनगुनासो आएकाले पत्रकारहरुले त्यसको पुष्टी गर्नका लागि सूचना मागेका हुन् ।

उनीहरुले गाउँपालिका क्षेत्रमा यहाँका सरोकारवालाहरुलाई समेत थाहाँ नदिई लक्षित वर्गका नाममा र इन्धन खर्चमा ठुलो परिणामको रकम दुरुपयोग भएको आरोप बाहिर आएकाले त्यसको आय र खर्च विवरण सहित उपलब्ध गराउन सुनसरीका संचारकर्मीहरुले सूचना माग गरेका छन् ।

चालु आर्थिक वर्षमा लक्षित वर्गका नाममा अपारदर्शी रुपमा कार्यक्रम गरि खर्च विवरण सार्वजनिक नगरेको भन्दै संचारकर्मीहरुले सूचना माग गरेका छन् । सुचनाको हक समबन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम गढी गाउँपालिकाबाट कार्यक्रमको विवरण सार्वजनिक गर्न संचारकर्मीहरुले माग गरेका हुन् ।

गढी गाउँपालिकाले अपारदर्शी नाममा गरेको खर्च मिलोमतोमा कार्यक्रम गरि वा नगरि सो विषयमा सुचना समेत गोप्य राखी रकम खर्च गर्नुकासाथै ठुलो परिणामको रकम खर्च गरेको आशंका रहेको छ । त्यसमा सरोकारवालाहरुको सुचनाका आधारमा खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फडिन्द्र भट्टराईले सूचना माग गरेको निवेदनमा तोक आदेश गरि सामाजिक विकास शाखाका नाममा लेखी पठाएको निवेदन १४७२ नम्बरमा दर्ता गरिएको छ । गाउँपालिकाको कार्यक्रमका बारेमा गाउँपालिकाकै सरोकारवालाहरुलाई समेत थाहा नदिएको गुनासो समेत बाहिर आएको छ ।