ताप्लेजुङ : दुर्घटना न्यूनिकरणका लागि ताप्लेजुङमा पहिलोपटक सार्वजनिक सवारी साधन चालकको आँखा जाँच गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला अस्पताल ताप्लेजुङ र नेपाल नेत्र ज्योति संघ÷डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रसंगको सहकार्यमा आइतबार चालकको आँखा जाँच गरेको हो । ट्राफिक प्रहरीले जिल्ला सदरमुकामको प्रवेशद्धारमा सार्वजनिक सवारी साधन चलाउने चालकको निः शुल्क आँखा जाँचका साथै सामान्य स्वास्थ्य परिक्षणसमेत गरेको छ । जिल्ला प्रहरी ट्राफिक कार्यालय ताप्लेजुङका प्रहरी हवल्दार दलबहादुर खत्रीले सवारी चालकबाट दुर्घटना हुने भएकोले सुरक्षाका लागि आँखा जाँच गरिएको बताए ।

ट्राफिक इन्चार्ज खत्रीले पहिलो पटक ताप्लेजुङमा चालकका आँखा जाँच गरेको बताए । उनका अनुसार एकदिन मै ५२ जना सवारी चालकको आँखा परीक्षण गरिएको छ । परीक्षणमा चालकहरुको आँखामा सबैभन्दा बढी दृष्टिदोषको समस्या देखिएको आँखा प्राविधिक काजीमान थेवेले बताए । त्यसमध्ये ६ जनामा भने आँखाको जटिल प्रकारको समस्या देखिएको उनले जानकारी दिए । त्यस्ता सवारी चालकलाई सुविधासम्पन्न आँखा अस्पतालमा सम्पर्क गर्न समेत सुझाव दिइएको छ ।

–नागरिक पूर्वेलीबाट