इटहरी: दुग्ध व्यवसायीहरुले लागत अनुसार किसानहरुले दुधको मुल्य पाउन नसकेको गुनासो पोखेका छन । साथै, नीतिगत समस्याका कारण पनि किसानहरुले सडकमै दुध पोख्नु परिरहेको पीडा उनीहरुले व्यक्त गरेका छन् ।

सुनसरीको इटहरीमा डेरी उद्योग संघको दशौं वार्षिक साधारण सभाको अवसरमा सोमबार किसान तथा दुध व्यवसायीहरुले यस्तो गुनासो पोखेका हुन् । कार्यक्रममा दुग्ध व्यवसायीहरुले नेपाली किसानहरुले उत्पादन गरेको दुधले बजार पाउन नसकिरहेको समयमा विदेशबाट धुलो दुध ठुलो परिणाममा भित्रिएको भन्दै गुनासोसमेत गरेका थिए । किसान ता व्यवसायीहरुको गुनासो पछि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ लाई निर्यात गर्ने गरी आत्मनिर्भर बनाउन सरकार लागिरहेको बताए । निर्यात गर्न नसके पनि आयात रोक्न नीति तथा सहकारीहरुसँग समन्वय गरेर अघि बढ्ने मन्त्री कार्कीको भनाई थियो । मन्त्री कार्कीले आगामी वर्षदेखि दुग्ध उत्पादनदेखि बजारीकरण गर्नलाई पनि सहज बनाउन नीति,नियम बनाउन सरोकारवालाहरुसँग समन्वय गरिने समेत जानकारी दिए ।

डेरी उद्योग संघका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले दुध उत्पादनको दृष्टिकोणले प्रदेश १ अग्रस्थानमा रहेको भएपनि काठमाडौं र पोेखरामा पुर्याउन नसकेको बताए । आगामी दिनमा प्रदेश १ को दुध उत्पादनलाई काठमाण्डौ, पोखरासम्म पुर्याउन संघले डेरी उद्योगी तथा प्रदेश सरकारसँग समन्वय गर्ने उनको भनाई थियो । संघको तथ्यांक अनुसार प्रदेस १ मा दैनिक २५ देखि ३० हजार लिटर दुध उत्पादन हुने गरेको छ । कार्यक्रममा प्रदेश १ का सांसद लिलम बस्नेत,सर्वध्वज सावाँ, कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष बाबुराम खत्री, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्रकेशरी घिमिरे, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेसकुमार विष्ट, डेरी उद्योग संघका महासचिव राजकुमार ढकाल लगायतले बोलेका थिए ।