धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको नेतृत्वमा आइतबार र सोमबार दुई दिन धरानका विभिन्न होटल तथा रेष्टुरेष्टहरुमा अनुगमन भएको छ । टोलीले दुई दिनमा १५ वटा होटल तथा रेष्टुरेष्टहरुको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा ती होटल तथा रेष्टुरेष्टहरुमध्ये क वर्गको अतिउत्तम स्तरको होटल तथा रेष्टुरेष्ट एउटा मात्र भेटाएको छ भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित होटलमा ज्यादै लापरवाही भएको पनि फेला पारेको छ । डिभिजन कार्यालयका प्रमुख बिक्रम लिम्बूका अनुसार खाद्य स्वच्छता अनुसार अनुगमन हुदा गोर्खा डिपार्टमेन्ट स्टोरको गोर्खा किचनमात्र अतिउत्तम(क वर्ग)को स्तरमा भेटिएको थियो ।

अनुगमन टोलीका अनुसार उत्तम(ख वर्ग) होटलहरुमा मायाबि बिबिक्यु गार्डेन, न्यु ड्रिमलेण्ड होटल एण्ड लज, धरान किचन एण्ड रेष्टुरेष्ट बार र बराह फेमिलि किचन मात्र स्तरीकरणमा परेको छ । यसैगरी, सन्तोषजनक(ग वर्गको) स्तरमा गुरुङ बिबिक्यु एण्ड हट किचन, भिन्टेज लाउञ्ज एण्ड बार, म्याङ्बो होटल, अर्किड किचन, कामना डेरी एण्ड बेकरी र हलवाइज बेकरी क्याफे परेको छ । किचनको सरसफाई, खाद्य सामग्री, प्रयोग हुने सामान, कर्मचारीको पहिरत तथा सरसफाईलगायत अनुगमन गरेर निर्देशिका अनुसार फारम भरेर पाएको अंकको आधारमा होटल तथा रेष्टुरेष्टहरु वर्गीकरणमा परेको प्रमुख लिम्बूले जानकारी दिए ।

IMG_20190204_163126

खाद्य स्वच्छताको स्तर अनुसार होटल तथा रेष्टुरेष्टहरुलाई टोलीले प्रमाणपत्र दिएको छ भने स्टिकर पनि टाँसेको धरान उपमहानगरका अनुगमन अधिकृत दिवस अधिकारीले जानकारी दिए । उनका अनुसार क,ख र ग मा पर्नेलाई हरियो र घ मा पर्नेलाई पहेलो स्टिकर टाँसिएको छ । डिभिजन कार्यालय प्रमुख लिम्बूको नेतृत्वको अनुगमन टोलीमा धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत दिवस अधिकारी, डिभिजन कार्यालयका खाद्य निरीक्षक सृजन जोशी, उपभोक्ता हित संरक्षण मञ्चका कृष्ण ताम्राकार, प्रहरी नायब निरीक्षक रवि लिम्बूलगायतले अनुगमन गरेका थिए ।

वीपीभित्रको टेक्सनमा ज्यादै लापरवाही

अनुगमन टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको टेक्सन भोजनालयले खानामा गम्भीर लापरवाही गर्ने गरेको फेला पारेको छ । अनुगमन टोलीका अनुसार भोजनालयले पकाएको तरकारी ज्यादै फोहोर क्रेटमा राखेको फेला पारेको थियो ।

डिभिजन कार्यालय प्रमुख लिम्बूकय अनुसार होटलमा फ्राइ गरेको तरकारीलाई सफा भाडामा राख्नुको सट्टा असाध्यै फोहोर क्रेटमा राखिएको थियो । ‘हामीले त्यो तरकारी तत्कालै तष्ट गर्यौ, र पहिलो पटक भएकोले चेतावनी दिएर छोड्यौ । अब फेरी पनि त्यस्तो लापरवाही भएको भेट्यौ भने सिल गछौ,’उनले भने ।