ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “मदन भण्डारी मार्गको काम मापदण्ड विपरीत” शीर्षकको समाचार छापिएको छ । राष्ट्रिय गौरवको आयाजना अन्तर्गत मदन भण्डारी राजमार्गका उदयपुरको सदरमुकाम खण्डमा हुदैँ गरेको निर्माण कार्य मापदण्ड विपरीत भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका वडा नं. ७ चुहाडे क्षेत्रमा आइतबारदेखि शुरु गरेको सडक कालोपत्रेको काम चौडाइ ११ मिटर हुनुपर्नेमा १० मिटर मात्र भएपछि स्थानीयले विरोध जनाएका छन् । विगतमा स्थानीयसंग जग्गा लिदाँ र आयोजना सम्झौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकोमा स्थानीयको आँखा छल्दैँ सडक आयोजना र ठेकेदार कम्पनी जेडआइसी, शर्मा लामा जेभी कन्स्ट्रक्सनले मापदण्ड विपरीत काम गरेको हो । सडक कार्यालय र ठेकेदार कम्पनीले आर्थिक चलखेल गरेर सडक खुम्च्याउने काम गरेको आरोप स्थानीयको छ । सडक आयोजना र ठेकेदारले जनताबिच पारदर्शी काम नगरेकाले पनि आर्थिक चलखेलको आशंका गरेका हुन् । चुहाडे चोक आसपासको करिब १५ सय मिटर सडकमा नियम विपरीत काम गरिएको देखिन्छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “विधुत सार्दा तीन घाइते” शीर्षकको समाचार छापिएको छ । विराटनगरमा बिजुलीको तार सार्ने क्रममा एक्कासी लाइनआएपछि करेण्ट लागेर तीन जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगरको भुकुटीचोक खण्डमा बिजुलीको नयाँ खण्डमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना मजदुर घाइते भएका हुन् । एकको अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर ४ का ३० वर्षीय, रिहान मियाँ, २१ मुकेश पासवान र सन्दिप पासवान घाइते भएका हुन् । घाइते मध्ये रिहानको अवस्था गम्भीर छ । उनलाई विराटनगर अस्पतालको भेण्टिलेटरमा राखिएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेलीमा “‘राज्यविहिन’ बन्दै गोबरगाढा” शीर्षकको समाचार छापिएको छ । ‘टापु गाउँ’ भनेर चिनिने सप्तरीको गोबरगाढा राज्यविहिन बन्दैछ । वर्षायामका बेला मिडियादेखि संसदसम्ममा चर्चा पाउने ठाउँ राज्यविहिन जस्तै बनेको छ । वर्षायाममा यहाँका बासिन्दा ज्यानको बाजी नै लगाएर गाउँमा बसोबास गर्छन् । साविकको गोबरगाढा गाविस हाल हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत पर्छ । वर्षायाममा यहाँसम्म पुग्नलाई सानो ठुलो गरी तीनदेखि चार वटा भंगालो तर्नुपर्ने बाध्यता हुन्छ । हिउँदका बेला नदीमा पानी नभएपनि बालुवाका कारण साइकल वा मोटरसाईकल लिएर जानु पनि दुरुह नै हुने गरेको स्थानीयको भनाइ छ । यसैगरी आजको नागरिक पूर्वेलीमा “धरानले फोहोरबाट उर्जा निकाल्ने” शीर्षकको समाचार पनि छापिएको छ । धरान उपमहानगरपालिकाका लागि टाउको दुखाइ बनेको फोहोरमैला अबको ३ महिनापछि व्यवस्थापन मात्र हुने छैन, त्यसबाट उर्जा उत्पादन पनि हुनेछ । सार्वजनिक निजी साझेदारी अवधारणानुसार फोहोरमैलालाई व्यवस्थापन गर्न र त्यसबाट उर्जा उत्पादन गर्न उपमहानगरले गत वर्ष नै भेञ्चर वेस्ट टु इनर्जी प्रालिसंग सम्झौता गरेको थियो । प्रालिले अहिले धरान ६ पानबारीमा फोहोरमैला प्रशोधन केन्द्र स्थापनाको काम तीब्र गतिमा गरिरहेको छ । प्रालिका परामर्शदाता विवेक अग्रवालका अुसार २०७६ वैशाख १ गत्तेदेखि फोहोरबाट उर्जा उत्पादनको परीक्षण हुनेछ भने १५ गत्तेबाट व्यावसायिक रुपमा नै उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । ‘अहिले प्रशोधन केन्द्रको संरचना निर्माणको काम धमाधम भइरहेको छ, वैशाख लाग्दैदेखि परिक्षण गर्ने र १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘४० प्रतिशतभन्दा बढी काम सकियो ।’ कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरिद गरेर केन्द्र स्थापना गर्दैछ ।