बराहक्षेत्र:सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ मिलन चौकका अमर बहादुर बिकका १३ बर्षिय जेठा छोरा प्रेमबहादुर बिकलाई उपचारको लागि प्याब्सनले आर्थिक सहयोग गरेको छ ।

बिक ३ महिनादेखि बोनम्यारोको रोगले ग्रस्त छन् । उनको उपचारमा आर्थिक अभाव भएपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन भइरहेको प्रेमबहादुर बचाउ अभियानका सचिव सन्तोष गुप्ताले बताए । प्रेम बहादुर स्थानीय वराह राइजिङ इङलिस स्कुलमा कक्षा ५ मा पढ्दै आएका थिए । उनलाई बोनम्यारोको समस्या भएको थाह पाएपछि स्कलका प्रिन्सिपल बिजयकुमार राईको पहलमा जिल्लाका निजी स्कुलहरुबाट सहयोग जुटेको हो । उनका अनुसार धरान प्याब्सन र इटहरी प्याब्सनबाट पनि सहयोग आउन अझै बाँकी नै छ ।

जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष बिष्णु कोइरालाले प्रेमबहादुरको उपचारको लागि नगर प्याब्सनसँग हातोमालो गर्दै १ लाख ७१ हजार ४ सय ८० रुपैया हस्तान्तरण गरेको जानकारी दिए । बराहक्षेत्र प्याब्सनका अध्यक्ष कृष्ण तामाङका अनुसार दुहबी प्याब्सनबाट ३९ हजार ४ सय ४५ रुपैयाँ, इनरुवा प्याब्सनबाट १५ हजार, बराहक्षेत्र प्याब्सन बाट ६७ हजार ३५ रुपैयाँ र बराह राइजिङ्ग स्कुलबाट ५० हजार सहयोग जम्मा गरी हस्तान्तरण गरिएको छ । प्रेमबहादुरका बुबाले सहयोगी दाताहरुप्रति आभार व्यक्त गरे ।

प्रेमबहादुरको उपचार हाल काठमाडौमा भइरहेको छ । घरको आर्थिक अवस्था ज्यादै कमजोर छ । उपचारमा १७ लाख बढी खर्च लाग्ने उनका बुबा अमर बहादुर बिकले बताए । हालसम्म करिब ६ लाखको हाराहारीमा सहयोग संकलन भइसकेको छ ।