ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “एलेन कलेजका सञ्चालक पक्राउ” शीर्षकको छापिएको छ । गैरकानुनी रुपमा कलेज सञ्चालन गरेको उजुरीका आधारमा एलेन कलेज इन्जिनियरिङ प्रा.लि. इनरुवाका सञ्चालक विनोद शर्मा पक्राउ परेका छन् । अवैधानिक रुपमा सञ्चालित कलेजले मनोमानी शुल्क लिएर ठगी गर्दै आएको भन्दै अभिभावकले सिटिइभिटीमा उजुरी दिएका थिए । उजुरीका आधारमा सिटिइभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनको क्रममा कलेज स्वीकृती बेगर सञ्चालनमा रहेको खुल्न आएको थियो । सोही विषयलाई आधार मान्दै सिटिइभिटीले कलेज बन्द गरी ठगी मुद्दामा कारबाहीका लागी जिल्ला प्रशासनमा गरेको पत्राचारका आधारमा आवश्यक कारबाही अघि बढाउन दिइएको आदेश बमोजिम सुनसरी प्रहरीले सञ्चालक शर्मालाई पक्राउ गरेको हो । सोमबार पक्राउ परेका शमालाई मङ्गलबार म्याद थपे गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शर्मा उपर ठगी मुद्दामा कारबाही अघि बढाएको जनाएको छ । शर्मालाई सुनसरी जिल्ला अदालतले ठगी मुद्दामा ६ दिन म्याद थप गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “महिला साफ फुटबलका लागि मैदान मर्मत तीब्र” शीर्षकको समाचार छापिएको छ । फागुन २८ गतेदेखि आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको तयारीका लागि मैदान मर्मतको काम तीब्र बनाइएको छ । पहिलो पटक विराटनगरको सहिद रंगशालामा हुन लागेको प्रतियोगिताका लागि मैदान मर्मतको काम तीब्र बनाइएको हो । प्रतियोगिताको सम्पुर्ण तयारी फागुन १५ गतेभित्र सक्नेगरी काम भैरहेको अखिल नेपाल फुटबल संघ एनफा उपसचिव बसन्त अर्यालले जानकारी दिए । अर्यालका अनुसार मैदान मर्मत, प्लेयर बक्स र चेन्जिङ रुमको काम भैरहेको छ । मैदानमा दुबो हुर्काउने काम पनि भइरहेको छ ।

पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “संखुवासभामा सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्दै” शीर्षकको समाचार छापिएको छ । नयाँ मुलुकी संहिता लागू भएपछि संखुवासभामा २४ जना पुरुषहरुले सम्बन्ध विच्छेदका लागि भन्दै मुद्दा दर्ता गरेका छन् । भदौ १ गतेदेखि लागु भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने भएपछि पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालतले मङ्गलबार पत्रकारसंग अन्तरक्रिया गरेर दिएको जानकारीनुसार आर्थिक वर्ष २०७५÷७६ को माघ १७ गते सम्ममा अदालतमा २५ जना पुरुष र ३६ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालतका न्यायधिश प्रकाश राउतका अनुसार अंशसहित सम्बन्ध विच्छेदका लागि २३ मुद्दा दर्ता भएका छन् ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “खानेपानी आयोजना निर्माण सुस्त” शीर्षकको समाचार छापिएको छ । सुनसरीको अमाहीवेला खानेपानीको आयोजना सुरु भएको दुई वर्ष वित्यो । कूल नौ करोड सात लाख रुपैयाँ बजेट रहेको आयोजनाको अहिलेसम्म १.९१ प्रतिशत मात्र काम सएिको छ । चालु आर्थिक वर्षमा काम गर्नका लागि सात लाख बजेट छुट्याएको छ । अमाहीवेला खानेपानी आयोजना आर्थिक वर्ष २०७७÷६८ मा पूरा गर्नुपर्ने लक्ष्य राखिएको छ । तर, अहिलेकै गतिमा बर्सेनि बजेट छुट्याएँदा तोकिएको समयमा आयोजना पूरा हुनै सक्दैन । जिल्लाकै इनरुवा खानेपानी सुधार र विस्तार आयोजना अब एक वर्षभित्रमा पुरा हुनुपर्ने हो । तर अहिलेसम्म कामको प्रगति हेर्दा ३५ प्रतिशत मात्र पूरा भएको छ । यो आयोजना १२ करोड ८३ लाखमा हुनुपर्ने हो । यता पूर्वकै उदयमान शहरको रुपमा विकसित हुदैँ आएको इटहरी वडा नं. १२ मा पर्ने खनार खानेपानी आयोजना पनि २०६५ सालदेखि सुरु भएर अहिलेसम्म ७६ प्रतिशत मात्रै काम सकिएको छ । खानेपानी तथा सरसफाई डिभिजन इटहरीले यो आयोजना अघिल्लै वर्ष पूरा हुने जनाएको थियो । यसैगरी “हराएका व्यक्ति मृत भेटिए” शीर्षकको समाचार पनि छापिएको छ । सातदिन अघि घरबाट हिँडी वेपत्ता भएका ताप्लेजुङको फुङलिङका ५३ वर्षीय सन्तवीर दियाली मृत अवस्थामा फेला परेका छन् । उनको शव फुङलिङ नगरपालिका अमलेडाँडास्थित तमोर नदिको बीच पानीको भागमा ढुंगामा अल्झिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका निमित्त प्रहरी प्रमुख निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।