सुनसरी: इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले महिला हिँसा कम गर्न महिलालाई आर्थिकरुपमा सक्षम बनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व बैकका प्रतिनिधिहरुसँग इटहरीमा भएको छलफल कार्यक्रममा उनले महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनु पर्ने बताएका हुन् । उनले ब्यवसायिक र शिपमुलक तालिम प्रदान गरेर आयआर्जनको अवस्था सृजना गर्न स्थानीय सरकार प्रतिवद्ध भएको पनि बताए । महिला संजाल इटहरीकी अध्यक्ष विमला ढकाल,सचिव सुभद्रा प्याकुरेलले समेत महिलालाई आर्थिकरुपमा सक्षम वनाउने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।

यसैगरि कार्यपालिका सदस्य शान्ता अधिकारी, महिला अधिकारकर्मी शिला गजमेर, तलेजु वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सविता दाहाल, शिक्षक चण्डिका वास्तोला, श्रमिक महिला साझा मंचकी अध्यक्ष लिला भूजेल लगायतले महिला शशक्तिकरणका लागि ब्यवसायिक र आयमूलक अभियान चलाउनुपर्ने धारणा राखेका थिए ।

51464644_10214973899553708_

इटहरीमा विश्व बैंकको सहयोगमा एक अर्ब बढीको कार्यक्रम सञ्चालन हुदै छ । शहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजना अन्र्तगत भौतिक पूर्वाधारसहित उपमहानगरको क्षमता अभिवृद्धिका लागि सञ्चालित हुने कार्यक्रमका लागि विश्व वैकले महिला शशक्तिकरणका लागि गर्न सकिने कार्यका लागि सुझाव संकलन गर्न छलफल गरिएको हो । पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि इटहरीमा ४ वटा जति ठूला योजना छनौट गरिने छ । विश्व बैंकले इटहरी उपमहानगरसहित देशभरका १७ वटा नगरपालिकाहरुमा भौतिक पूर्वाधारसहित नगरपालिकाको क्षमता अभिवृद्धि र ४ वटामा क्षमता अभिवृद्धि कार्यक्रमका लागि १५० मिलियन डलर सहयोग गर्न लागेको छ ।