झापाःस्वास्थ्यका लागि दौडसहित अल्ट्रा म्याराथन दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले माघ २६ गते झापाको दमकमा मिनी म्याराथुन हुने भएको छ ।

दमक रनको आयोजनामा मिनि म्याराथुन हुन लागेको आयोजकले आज बुधबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महिला र पुरुषको अलग अलग उमेर समूह तथा खुल्लातर्फ प्रतियोगिता हुनेछन् ।

महिला र पुरुषतर्फ खुल्ला १५ किलोमिटर दौड, ७ वर्षदेखि १२ वर्षसम्मका महिला र पुरुषको ५ किलोमिटर दौड हुनेछ भने १३ बर्षदेखि १६ वर्षसम्मका महिला र पुरुषको १५ किलोमिटर दौड र भेट्रानतर्फ महिला र पुरुषको १५ किलोमिटर दौड प्रतियोगिता हुनेछ । खुल्ला दौडतर्फ पुरुषका लागि ५० हजार र महिलाका लागि ४० हजार पुरस्कार राखिएको छ भने पुरुषतर्फ दोश्रो हुनेलाई ३० हजार र तेश्रो प्रतियोगिलाई २० हजार रुपैयासहित प्रमाणपत्र प्रदान गरिने दमक रनका अध्यक्ष दिवस राईले बताए । यसैगरि खुल्लाकै महिलातर्फ दोश्रो हुनेले २५ र तेश्रोलाई १५ हजार रुपैयासहित प्रमाणपत्र प्राप्त गर्ने जनाईएको छ ।

यसैगरि प्रतियोगिताको ५ किलोमिटर दौडको पुरुष तर्फ विजेता हुनेले नगद ७ हजार र दोश्रो र तेश्रो हुनेले क्रमशः ५ र ३ हजार प्राप्त गर्ने छन् । त्यस्तै, १३ देखि १६ वर्ष उमेर समूहको १५ किलोमिटर दौडमा पुरुषतर्फ प्रथम,दोश्रो र तेश्रो हुने क्रमशः १५, १० र ५ हजार प्राप्त गर्ने अध्यक्ष राईको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न करिव १८ लाख खर्च हुने अनुमान गरिएको आयोजक दमक रनले पत्रकार सम्मेलन गरि जनाएको छ ।