इनरुवा : सुनसरीको हरिनगर गाउँपालीकामा संचालित क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा इनरुवालाई हराउँदै भाण्टावारी फाइनलमा प्रवेश गरेको छ ।

युथ स्टार स्पोर्ट्स क्लब हरिनगरले आयोजना गरेको चौथो १५÷१५ ओभरको च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार इनरुवालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भाण्टावारीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भाण्टावारीले निर्धा्रित १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रनको ठुलो योगफल बनाएको थियो । भाण्टावारीलाई उच्च योगफल तर्फ पुर्याउन मिस्टर आलमले ४७, सादिस आलमले ४३, आल्मिनले ३६ तथा राजन मण्डलले २८ रनको योगदान दिएका थिए ।
१ सय ७६ रनको उच्च चुनौती पछ्याउँदै जवाफमा ब्याटिङ गरेको इनरुवा १२ औं ओभरमा मात्र ७९ रनमा समेटियो ।

इनरुवालाई सस्तैमा समेटन बलिङतर्फ भाण्टावारीका सहबाज आलमले सर्वा्धिक ४, आल्मिनले २ तथा मिस्टर, सदरे र असहाब आलमले एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच आल्मिन घोषित भएको भाण्टावारीका स्थानीय दिलजान आलमले जानकारी दिए ।

प्रतियोगिताको उपाधीका लागि अब भाण्टावारीले दोस्रो सेमिफाइनल खेलका विजेता संग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ ।