धरान:शनिबारदेखि शुरु हुने २१ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

धरान फुटबल क्लबले आज बिहिबार खेल धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गरेर गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता माघ २६ देखि शुरु भएर फागुन ४ गते समापन हुनेछ । प्रतियोगिताको उद्घाटनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट प्रमुख अतिथि रहनेछन् भने समापनमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आउने आयोजक क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । ‘सबै तयारी भइसकेको छ, सहभागी टिमहरु पनि सबै सुनिश्चित भइसक्यो,’अध्यक्ष राईले भने ।

_DSC0522

यसपटक २ वटा आमन्त्रित टिमसहित ८ टिम प्रतियोगितामा सहभागी हुनेछ । आयोजक क्लबको टिमसँगै संकटा क्लब काठमाण्डौं, मेची नेत्रालय केएफटिसि, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस, सहारा पोखरा हुनेछ भने डल्फिन्स क्यामरुन र कलकत्ताको डल्हाउजी एथलेटिक पाहुना टोलीकोरुपमा सहभागी हुनेछ । यसपाली एन्फामार्गत उत्कृष्ट विदेशी टिम ल्याउन पहल गरेपनि सफल नभएको अध्यक्ष राईले बताए । ‘तरपनि राम्रो टिमहरु सहभागी छन्, मैदान पनि राम्रो छ, त्यसैले यसपालीको प्रतियोगिता उत्कृष्ट बन्छ,’अध्यक्ष राईले भने । प्रतियोगितामा धरान उपमहानगरपालिका संयोजक, रेडबुलको मुख्य प्रायोजक रहेको छ भने काब्रा ग्रुपको ज्याकपट मुख्य सहप्रायोजक रहेको छ ।

विजेतालाई ८ लाख पुरस्कार दिइने

IMG_20190207_105736

बुढासुब्बा गोल्डकपको २१ औं सँस्करणको विजेताले नगद पुरस्कार ८ लाख पाउनेछ भने उपविजेताले ४ लाख पाउनेछ । यस्तै, प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई होण्डाको डियो स्कुटर दिइने आयोजकले जनाएको छ । यसैगरी, हाइ स्कोररले नगद ३५ हजार हात पार्नेछ भने उत्कृष्ट कोच, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डले जनही नगद २५ हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याच र धरानका उदयीमान एक खेलाडीलाई पनि नगद १५ हजार पुरस्कार दिइनेछ ।


टिकट १० रुपैया मात्र महंगो, भाग्यशाली दर्शकलाई होण्डा नाभी

IMG_20190207_105751

यसपाली प्रतियोगिताको खेल हेर्न गत बर्षको भन्दा मात्र १० रुपैया बढी तिर्नुपर्नेछ । गत बर्ष क्वार्टर, सेमी र फाइनलको टिकदर क्रमशः १००, २०० र ३०० रुपैया थियो । ‘यसपाली १० रुपैया थपेर क्वार्टरफाइनलको ११०, सेमीफाइनलको २१० र फाइनलको ३१० बनाएका छौ,’अध्यक्ष राईले भने । टिकट काटेर हेर्ने दर्शकहरुमध्ये एक जनालाई लक्की ड्रमार्फत होण्डाको नाभी(बाइकजस्तो देखिने स्कुटर) उपहार प्रदान गरिनेछ ।

बुढासुब्बाको हालसम्मका विजेता र उपविजेताहरु:

२०५५
विजेता– बुल्गेरिया स्पोर्टिङ क्लब (भारत)
उपविजेता– धरान फुटबल क्लब
२०५६
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– धरान फुटबल क्लब
२०५७
विजेता– धनमुन्दी क्लब ९बङ्गलादेश०
उपविजेता – महेन्द्र पुलिस क्लब
२०५८
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– धरान फुटबल क्लब
२०५९
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– फ्रेण्ड्स क्लब
२०६०
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– महेन्द्र पुलिस क्लब
२०६१
विजेता– थ्रीस्टार क्लब
उपविजेता– जावालाखेल युथ क्लब
२०६२
विजेता– अफ्रिकन युनाइटेड क्लब
उपविजेता– धरान फुटबल क्लब
२०६३
विजेता– नबिल थ्रीस्टार क्लब
उपविजेता– अफ्रिकन युनाइटेड क्लब
२०६४
विजेता– महेन्द्र पुलिस क्लब
उपविजेता– जावालाखेल युथ क्लब
२०६५
विजेता– नबिल थ्रीस्टार क्लब
उपविजेता– त्रिभुवन आर्मी क्लब
२०६६
विजेता– आरसीटी क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०६७
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– आरसीटी क्लब
२०६८
विजेता– थ्रीस्टार क्लब
उपविजेता– मनाङ मस्र्याङ्दी क्लब
२०६९
विजेता– हङकङ नेपाली महासङ्घ
उपविजेता– त्रिभुवन आर्मी क्लब
२०७०
विजेता– अफ्रिकन युनाइटेड क्लब
उपविजेता– साहार क्लब
२०७१
विजेता– एपिएफ काठमाडौं
उपविजेता– एमएमसी काठमाडौं
२०७२
विजेता– मनाङ मस्र्याङ्दी क्लब
उपविजेता– नेपाल पुलिस क्लब
२०७३
विजेता– नेपाल पुलिस क्लब
उपविजेता– सङ्कटा क्लब
२०७४
विजेता– थ्री स्टार क्लब
उपविजेता– नेपाल पुलिस क्लब


तस्बिर: सनम तामांग