धरान: दलित विकास समिति धरान उपमहानगरपालिकाको आयोजनामा बिहीबार धरानमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कविता, गीत, गजल तथा मुक्तक विधामा सहभागी प्रतियोगीहरु मध्ये धरान ८ का खड्गबहादुर कोइराला प्रथम भए भने धरान १७ की उषा परियार दोश्रो र धरान १३ की रोनिषा तिखत्री तृतीय भए । उनीहरुलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको दलित विकास समिति धरानले जानकारी दिएको छ । प्रतियोगितामा एक नम्बर प्रदेश सांसद उमिता बराइलीले आफ्नै सृजनामा आधारित कविता वाचन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले कानुनका नाममा दलितहरुलाई विभेद गर्दै अन्तरजातीय विवाहमा बलात्कारको मुद्दा लगाएर फसाउन थालेकाले सो विषयमा सबै सचेत र गम्भीर हुन आग्रह गरिन् ।

साहित्य प्रतियोगितामा समुदायका १५ जनालले प्रतिष्पर्धा गरेका थिए भने अप्रतियोगीका रुपमा मानबहादुर कालिकोटे, कोपिला गौतम भट्टराई, लीला ढकाल, निर्मला नेपाल, विनोद रसाइली जुरेली, सुवास वर्देवा लगायतले समेत आफ्नो सृजना प्रस्तुत गरेका थिए । उनीहरुले आफ्नो सृजना तथा रचनामार्फत जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्न सबै मानव समुदाय एक भई सभ्य समाजको निर्माणमा जोड दिएका थिए ।

धरान नगर कार्यपालिका सदस्य समेत रहेका दलित विकास समितिका संयोजक किशोर परियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा दलित समितिका सदस्य खगेन्द्र नेपालीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक शकुन्तला भुषालले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् । कार्यक्रम सदस्य सचिव तारा लामगादेले सञ्चालन गरेका थिए भने प्रतियोगिताको निर्णायकमा साहित्यकार केशव सुनाम, मणिराज राई (गोठाले) र लिला शंकर रहेका थिए । आर्थिक वर्ष २०७५।०७६ को नगरकार्यपालिकाको लक्षित वर्ग दलित समुदायको लागि बिनियोजित बजेट अन्तर्गत ३० हजार रकममा उक्त कार्यक्रम सञ्चालन गरिएको समितिले जनाएको छ । दलित विकास समितिले आफ्नो समुदायका साहित्यकारहरुको क्षमता तथा साहित्य विकासका लागि उक्त कार्यक्रम गर्दै आएको बताएको छ ।