विराटनगर: न्यायाधिशसमेत कारबाहीमा परेको चर्चित ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा बिहिबार उच्च अदालत विराटनगरले लगानीकर्ता भुजुङ गुरुङसहित ८ जनालाई थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत मोरङको थुनामा राख्ने आदेशविरुद्ध दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले ८ जनालाई थुनामै राख्न बिहीबार आदेश दिएको हो । कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र लेखनाथ घिमिरेको इजलासले भुजुङसँगै ८ जनालाई थुनामा राख्न आदेश दिएको हो । यसअघि मुख्य आरोपीलाई छोड्न दिएको आदेश विवादस्पद बनेपछि उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जना न्यायाधीशलार्ई न्यायपरिषद्ले कारबाही स्वरुपम काजमा तानेको थियो ।

उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ, डाक्टर डेभिट भनिने छिरिङ वाङ्ला घलेलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्ट्रार नारायण रेग्मीले जानकारी दिए । अदालतले अबु सलाम खान भनिने शैयाद अकबर र डब्बु भनिने इस्तियाज उद्दिनलाई भने जनही १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत विराटनगरले बालकृष्ण खडका, ठाकुरप्रसाद ढुंगाना, रेवत भन्ने रेवतकुमार आचार्य, विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई धरौटीमा छाड्ने जिल्लाको आदेशलाई सदर गरेको छ ।

यो मुद्दामा १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा ल्याइएको दाबी छ । यसअघि एसएसपी श्याम खत्री, डीएसपी सञ्जयबहादुर राउत थुनामा नै छन् । पूर्व डीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकाशराज खनाल, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल साधारण तारेखमा छुटेका छन् ।