धरान: धरानको पहिलो तारे होटल गजुर प्यालेस आजदेखि शुरुवात हुदैछ । केही समयपछि धरान ८ भोटेपुलस्थित होटल गजुरको उद्घाटन प्रदेश नं १ का अन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम छ ।

होटल उद्घाटन कार्यक्रम बिहान १० बजे राखिएको छ । यो होटल सञ्चानलमा आएपछि धरानमा स्तरीय होटल छैन भन्ने गुनासोको अन्त्य हुनेछ, र यसले धरानको व्यापारसँगै पर्यटनलाई माथि उकास्ने अपेक्षा गरिएको छ । होटल गजुर २ तारे स्तरको होटल हो । तर यसको सेवा सुविधा र मापदण्ड सबै तीन तारे(थ्री स्टार) सरह छ । मात्र कोठा संख्या नपुगेको कारण तीन तारेको मान्यता नभएको हो ।

होटल सञ्चालनको सबै तयारी पुरा भएको र आज उद्घाटन हुने प्रोपाइटर गोपालप्रसाद आचार्यले जानकारी दिए । होटलमा ८ करोड ४५ लाख हाराहारी लगानी भएको उनको भनाई छ । होटलमा तीन तारे सरहको सबै मापदण्ड पुरा भएपनि कोठाको संख्या मात्र नपुगेको कारण होटल २ तारे मान्यता भएको उनले बताए । ‘थ्री स्टारमा आवश्यक सबै मापदण्ड पुगेको छ, तर कोठाको संख्या मात्र कम भयो । त्यसैले होटल २ तारे हुन्छ, तर सबै सेवा सुविधाहरु तीन तारे होटलकै सरह हुनेछ,’प्रोपाइटर आचार्यले भने ।

आचार्यका अनुसार तीन तारे होटल हुन ४५ वटा कोठा आवश्यक पर्छ । उनको होटल गजुर प्यालेसमा २८ वटा मात्र कोठा छन् । पछि कोठा थपेर तीन तारे बनाउने सञ्चालकको भनाई छ । होटलमा २८ वटा कोठामा एक रातमा ५४ जना पाहुना राख्न सक्ने क्षमता छ । होटलमा किंग सुइट रुम, प्रिमियम डिलक्स रुम, एक्सक्लुसिभ डिलक्स रुमलगायत ५ किसिमको सेवासुविधा भएको कोठाहरु छन् । जसको शुल्क न्युनतम ४ हजार ९ सयदेखि १९ हजार ९ सय रुपैयासम्म रहेको सञ्चालक आचार्यले जानकारी दिए । 

होटल २ सय जनाको क्षमता भएको सेमीनार हल हुनेछ भने एकैपटक न्युनतम ४ सय जना अटाउने क्षमता भएको ब्यांकेट पार्टी हल पनि सुविधा हुनेछ । ‘रेष्टुरेष्ट ६५ जना सिटको छ, २२ बर्षको अनुवभ भएको सेफ र सबै अनुभवी टिम छ, भिआइपीहरुको लागि अलग्गै लाउञ्ज छ,’प्रोपाइटर आचार्यले भने,‘गाडी १५ वटा जति र ५० वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङ पनि हुनेछ ।’ होटलमा अहिलेसम्म २७ जनाले होटलमा रोजगारी पाइसकेका छन् ।

img-20190127-170822