बनियानी: झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ ।

‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले जानकारी दिए । कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि कृषकलाई रु एक करोड ६० लाख अनुदान उपलब्ध गराइने उनले बताए । पाँच दशमलव एक प्रतिशत रहेको हालको उत्पादकत्वलाई वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत झापाका आठ स्थानीय तहमा २२ वटा क्लस्टर निर्माण गरिने भएको छ ।

जिल्लाको कमल गाउँपालिका–१, गौरीगञ्ज–१ देखि ६, हल्दिबारी–४ र ५ मा एक/एक वटा क्लस्टर र बुद्धशान्ति गाउँपालिका–१, ३ र ५ मा दुईवटा क्लस्टर निर्माण गरिने भएको छ । त्यस्तै, शिवसताक्षी–१, २ र ३ मा तीन, अर्जुनधारा–४ र दमक–१० मा एक/एक तथा गौरादह नगरपालिका–९ मा नौ क्लस्टर निर्माण गरिने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यस्तै, झापाका तीन स्थानीय तहमा वर्षे धानबालीको उत्पादन सामग्री -उन्नत बीउबिजन, कृषि चुन, झोलमल, सुक्ष्म खाद्यतत्व मललगायतको खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ । ‘उन्नत बीउबिजन उत्पादक सामग्रीमा सहयोग कार्यक्रम’ अन्तर्गत ५०/५० प्रतिशत लागत सहभागितामा हल्दिबारी, झापा तथा गौरीगञ्ज गाउँपालिकाका कृषकलाई अनुदान उपलब्ध गराउन लागिएको कार्यालयले जनाएको छ ।