नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “हिउँले जनजीवन प्रभावित” शीर्षकको समाचार छापिएको छ । देशका अन्य ठाउँमा जस्तै उदयपुरमा पनि शनिबार हिउँ परेको छ । लगभग २ दशकपछि वर्षासंगै परेको बाक्लो हिउँले जिल्लाको उच्च पहाडी भेगको जनजीवन प्रभावित भएको छ । उदयपुरको लिमचुङबुङ, रौतामाई र ताप्ली गाउँपालिकाका माथिल्लो भेगमा बाक्लो हिउँ परेको स्थानीयले बताएका छन् । प्रत्यक्षदर्शी स्थानीय लिमचुङबुङ ३ भालेबासका गन्जु शेर्पाका अनुसार समुद्री सतहदेखि १ हजार ३ सय ७० मिटरसम्मको उचाईमा हिउँ परेको छ । १ हजार ६ सय ५० मिटर उचाईको लिमचुङबुङ ५ को मिनासिखा, लुख्रिमथुम्का हुँदैँ १ हजार ८ सय मिटरको गाउँपालिका केन्द्र बाराहाको नागी सिरुवानी, दोबाटे, भोयोचुङक्षेत्र हिउँले सेताम्मे भरिएको उनले बताए । जिल्लाको सबैभन्दा अग्लो २ हजार ३ सय ७० मिटरको चित्रेथाम, भालेवास र छिमेकी रौतामाई गाउँपालिका १ साविक नामेटारको माझखर्क, जिरे टाट्नेका गाउँबस्ती र जंगल हिउँले भरिएको छ । हिउँ परेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । वर्षा र चिसोले खासगरी वृद्धवृद्धा र बालबालिकालाई सताएको छ । त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “हलेसी जोड्ने सडक सञ्चालनमा” शीर्षकको अर्को समाचार पनि छापिएको छ । प्रदेशकै प्रसिद्ध तीन धार्मिकस्थल तथा पर्यटन आकर्षणको केन्द्र मानिने खोटाङको हलेसी पुग्न उदयपुरको मध्यभाग भएर नयाँ सडकमार्ग भर्खरै सञ्चालनमा आएको छ । उदयपुर सदरमुकाम गाईघाटदेखि मुर्कुची, माझखर्क, लिमचुङबुङ बतासेघाट हुँदै भर्खरै निर्माण भएको ‘होलेसुङ–जनकराज राई मार्ग’ बाट हलेसी पुग्ने वैकल्पिक सडक शुक्रबारदेखी सञ्चालनमा आएको हो । लिमचुङबुङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको सीमास्थल सुनकोशी बतासेघाटबाट राजधानीसंग हलेसीलाई सोझो यातायात सम्पर्क स्थापित गराउन सडक सञ्चालनमा ल्याइएको हो । शुक्रबार एक कार्यबीच लिमचुङबुङका अध्यक्ष मेजरकुमार राई र हलेसी तुवाचुङ नगरप्रमुख इवन राईले संयुक्तरुपमा उद्घाटन गर्दै यातायात सेवाको सुरुवात गरे ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “५० हजार ‘सुपारी’ लिने हत्यारा ८ वर्षपछि पक्राउ” शीर्षकको समाचार छापिएको छ । ५० हजार सुपारी लिई मोरङको रङ्गेलीस्थित एक किशोरको हत्या गर्ने अभियुक्तलाई अदालतले फैसला गरेको आठ वर्षपछि पक्राउ गरेको छ । रङ्गेली ४ का अमरलाल साहका १७ वर्षीय छोरा उपेन्द्र साहको हत्या अभियोगमा अदालतले २० वर्ष कैद फैसला सुनाएको सोही ठाउँका ४० वर्षीय ठृङ्वा भनिने रमेश साहलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । साहको हत्या भिनाजु पर्ने शम्भु साह र रमेशले ०६७ चैत्र ८ मा गरेका थिए । त्यतिबेला साहको हत्या गरी शौचालयको ट्याङ्कीभित्र शव फालिएको थियो । हत्या भएको तीन वर्षपछि साहको साहको कङ्काल तथा उनले लगाएको भेस्ट र ज्याकेट हत्यामा संलग्न इन्द्रलाल मण्डलको शौचालयबाहिर ०७१ कात्तिक १४ मा फेला परेको थियो । उपेन्द्रले लगाएको ज्याकेट र भेस्ट फेला परेपछि प्रहरीलाई हत्यारा पक्राउृ गर्न सजिलो भयो । हत्यारा पत्ता लगाउन सक्रिय मोरङ प्रहरीले विषेश प्रहरी टोली परिचालन गरी हत्याका मुख्य योजनाकार शम्भुलाई १३ पुष २०७४ मा रहङ्गेली बजारबाट पक्राउ गरी विराटनगर कारागार चलान गरेको छ । शम्भुले नातामा साला पर्ने उपेन्द्रको हत्या गरी सम्पती हडप्ने उद्देश्यले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । प्रहरीले रमेशलाइृ रङ्गली बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका रमेशलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर आइतबार कारागार पठाउने तयारी गरेको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सीएमा प्रणाशा सर्वोत्कृष्ट” शीर्षकको समाचार छापिएको छ । नेपालमा चाटर्ड एकाउन्टेन्सी सिए पढाई भएके २२ वर्षे इतिहासमा विराटनगरकी प्रणाशा श्रेष्ठ सर्वोत्कृष्ट भएकी छन् । विराटनगरस्थित मेरिल्याण्ड करिअर एकेडेमीमा अध्ययनरत क्याप २ को परीक्षामा उनी सर्वोत्कृष्ट बोर्ड फस्ट भएकी हुन् । सर्वोत्कृष्ट भएकी श्रेष्ठलाई एक समारोहबीच एकेडेमीले नगद २५ हजारसहित सम्मान गरेको छ । शनिबार विराटनगरमा पश्च्मिाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाले उनलाई सम्मान गरेको हो ।