ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नेपाल–भारत जोड्ने पक्की सडक बन्दैँ” सुनसरीको हरिनगर गाउँपालिकामा प्रदेश १ मै पहिलो पटक बहुवर्षीय योजना अनुसार नेपाल–भारत जोड्ने पक्की सडक निर्माण शुरु गरिएको छ । भारत विहार राज्यमा पर्ने फुल्का, घुर्ना र बामतिया बजारसंग जोडिएको हरिनगर गाउँपालिकाले ३१ करोड बजेटबाट ७ वटा बाटो निर्माण कार्य शुरु भएसंगै स्थानीय हर्षित भएका छन् । स्थानीय हार्डवेयर व्यापारी इशा अन्सारीले सडक निर्माणको काम शुरु भएपछि सीमावर्ती क्षेत्रमा उत्साह थपिएको बताए । ‘घण्टौँ लगाएर सदरमुकाम आउने स्थानीयहरु सडक बन्ने भएपछि आफुले उत्पादन गरेको कृषि सामग्रीले सहजै बजार पाउने भएर खुशी छन्’ उनले भने । गाउँघरमा विरामी भएपनि सडक नहुँदा धेरै समस्या हुने गरेकोमा अब छुट्कारा पाउने उनी बताउँछन् । सडक निर्माणले हरिनगरमा रहेका दुईवटा छोटी भन्सारले राम्रो काम गर्ने स्थानीयबासी मास्टर कासिमले बताए । बाटो निर्माण भएसंगै स्थानीय हर्षित भएको उनको भनाई थियो । त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “प्रथम राष्ट्रिय बेटी सम्मेलन शुरु” शीर्षकको अर्को समाचार पनि छापिएको छ । उदयपुरमा नेपालकै पहिलो पटक तीन दिने राष्ट्रिय बेटी सम्मेलन २०७५ शुरु भएको छ । महिला हिंसालाई अन्त्य गर्ने उद्देश्यले नेपालमै पहिलो पटक राष्ट्रिय बेटी सम्मेलन २०७५ आइतबारदेखि शुरु भएको हो । समानता, समावेशी र मानवअधिकारका लागि ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔँ चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मुल नाराको साथ प्रथम पटक राष्ट्रिय बेटी सम्मेलनको आयोजना गरिएको थियो । छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मनिर्भरताको मुद्दाहरुलाई उठान गरी सातवटै प्रदेशमा महिला अङ्कित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको आयोजक मासवेसले जनाएको छ ।

नगरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पुल निर्माणका लागि आन्दोलन” शीर्षकको समाचार छापिएको छ । भोजपुर र संखुवासभा जिल्लाको सिमाना लम्सुवाघाटको पक्की पुल निर्माणका लागि दबाव दिदैँ स्थानीय आन्दोलनमा उत्रिएका छन् । पटक–पटक सरोकारवाला निकायको ध्यानकर्षण गराउँदा पनि थप काम नभएपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीयको भेलाले ‘अरुण नदीमाथि लम्सवाघाटमा पक्की पुल बनाऔँ’ अभियान बनाएर दबाबमुलक आन्दोलन थालेको संयोजक दिलकुमार राईले बताए । समितिले माघ २८ गतेबाट आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । षडानन्द नगरपालिका प्रमुख, उपप्रमुख कार्यालय घेराउदेखि वडा कार्यालय बन्दसम्मको कार्यक्रम सार्वजनिक गएिको छ । सडक निर्माण सुरु भएको ९ वर्ष बित्दा पनि ३० प्रतिशत मात्र काम सकिएपछि स्थानीय आन्दोलनमा हुन् । २०६७ सालमा शिल्यानस भएको पुलको ३० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । १३ करोड ५० लाख लागतमा बन्ने भनिएको पुलको निर्माणमा ३ करोड ७६ लाख हालसम्म खर्च भएको छ । स्थानीय तहले समेत पुल निर्माणमा बेवास्ता गरेको दबाब समूहको आरोप छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “दुई दिनमै भत्कियो पर्खाल” शीर्षकको समाचार छापिएको छ । मोरङको जहदाँ गाउँपालिका–३ भातीगछमा निमाणाधीन खानेपानी आयोजनाको काम गुणस्तहीन भएको भन्दैँ स्थानीयबासीले विरोध जनाएका छन् । वन लगाएको ऐलानी जग्गामा निर्माण सुरु गरेको खानेपानी आयोजनाको काम गुणस्तरहिन भएको भन्दैँ स्थानीयहरु विरोधमा उत्रिएका हुन् । प्रदेश सरकारको तराई मधेश कार्यक्रम अन्र्तगत सुरु भएको भातीगछ खानेपानी आयोजनाको निर्माणको काममा उपभेक्ता समितिमार्फत गर्ने योजना रहे पनि उपभोक्ता समितिले ठेक्का दिएर सुरु गरेको काम गुणस्तरहिन भएको स्थानीयहरुले आरोप लगाएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर ४ झापाको मातहतमा सुरु भएको आयोजनाको कम्पाउण्ड पर्खाल लगाउने काम गुणस्तरहिन भएको स्थानीयको आरोप छ ।

औजार : आजको औजार दैनिकमा “सुनसरीको सात स्थानीय तह दमकल विहिन” शीर्षकको समाचार छापिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका सहित सात स्थानीय तहमा दमकल विहिनको अवस्था रहेको छ । जिल्लामा आगलागीको घटना उच्च हुने क्षेत्रमा पर्ने कोशी गाउँपालिका, भोक्राहा नरसिंह, गढी, बर्जु, देवानगञ्ज, हरिनगर सहितका गाउँपालिकामा आफ्नो दमकल नरहेको स्थानीयहरुले बताएका छन् । यहाँ सबै महिना र विषेश गरेर गर्मी मौसममा हावाहुरी, आगलागीका घटना बढेने भएपनि त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि यहाँ दमकलको अभाव रहेको लौकहीका पवन रौनियारले गुनासो गरेका छन् । जिल्लाका १२ स्थानीय तह मध्ये ७ स्थानीय तह दमकलविहिन रहेका छन् ।