ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित मेवाराजा आधारभुत विद्यालयमा पुस्तकालय र अक्षयकोष स्थापना गरिएको छ ।

फुङ्लिङ नगरपालिका ८ दोखुको बहान्देमा रहेको उक्त विद्यालयमा मानवताका लागि करुण अभियान नामक संस्था र स्थानीय समाजसेवीले पुस्तकालय र अक्षयकोष स्थापना गरिदिएका छन् । आईतबार सरस्वती पुजाको अवसर पारेर विद्यालयमा पुस्तकालय र अक्षयकोषको स्थापना गरिएको हो । मेवाराजा आधारभुत विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पर्वतराज घिमिरेको पहलमा मानवताका लागि करुण अभियानले पुस्तकालय स्थापना गरिदिएको र सो पुस्तकालयको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गरेका हुन् । पुस्तकालयको उद्घाटन गर्दै नगरप्रमुख प्याकुरेलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक विकास साथै बौद्धिकता अभिवृद्धि गर्नका लागि पुस्तकालयले सहयोग पुग्ने विश्वास व्यक्त लिए ।

पुस्तकालयका लागि अभियानले २ हजार थान पुस्तकहरु उपलव्ध गराएको छ । यस्तै अभियनले अक्षयकोषका लागि ८५ हजार एक रुपैयाँ आर्थिक सहयोग पनि उपलब्ध गराएको छ भने स्थानीय समाजसेवी रेवता खवासले स्वर्गीय श्रीमान् सिंहबहादुर खवासको स्मृतिमा १ लाख ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । उक्त अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट आगामी वर्षदेखि सरस्वती पूजाको अवसरमा विद्यालयका उत्कृष्ट एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरिने प्रध्यानाध्यापक मानबहादुर पालुङ्वाले जानकारी दिए ।

–नागरिक पूर्वेलीबाट