धरान: बुढासुब्बा रेडबुल गोल्डकप आफैमा इतिहास बनाएको चर्चित फुटबल प्रतियोगिता हो । यसपाली आयोजना भइरहेको २१ औं सँस्करण झनै स्मरणीय रहनेछ । यसको कारण हो, एकै दिन २ खेलको जित र हारको निर्णय सडन डेथबाट हुनु ।
बुढासुब्बा गोल्डकपको इतिहासमा २० औ सँस्करण हुदासम्म धेरै पटक खेल टाइब्रेकर र सडन डेथबाट छिनोफानो भएको थियो । तर, हिजो आइतबार सिएमजी संकटा क्लब र मेची नेत्रालय केएफटिसि झापाको जस्तो सडन डेथमा पनि बराबरी भएर रोकिएको थिएन । कुनै पनि खेल २ दिन आयोजना गर्नुपरेको बुढासुब्बाको इतिहासमै यो पहिलो घटना हो । आज बिहान संकटाले सडन डेथमा झापालाई हराउदै सेमीफाइनल पुगेको थियो ।
दिउँसो खेल तालिका अनुसार नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच आयोजना भएको खेल पनि सडन डेथबाटै निर्णय भयो । एकै दिन २ खेलको निर्णय सडन डेथबाट भएको पनि बुढासुब्बा गोल्डकपको इतिहासमा पहिलो घटना हो । पुलिस र सहाराबीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पहिलो हाफको ३३ औं मिनेटमा रवि पासवानको पासमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ८४ औं मिनेटमा सहाराले पेनाल्टी मौका पायो । पेनाल्टीमा विश्व अधिकारीले गोल गर्दै खेल बराबरी बनाए ।
त्यसपछि सडन डेथमा पुलिसका भरत साहले गोल गर्दा सहाराका अञ्जन देवकोटा गोल गर्नबाट चुकेपछि खेल पुलिसले जित्यो । जितसँगै नेपाल पुलिस प्रतियोगिताको सेमीफाइनलमा स्थान बनायो । खेलको म्यान अफ दि म्याच नेपाल पुलिसकय निरकुमार राई घोषित भए । उनलाई नगद १५ हजार र ट्रफी संघीय प्रहरी ईकाई कार्यालयका एसएसपी सरद खत्रीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मंगलबार आयोजक धरान फुटबल क्लब र कलकत्ताको डलहाउजी एथलेटिक क्लबबीच खेल हुनेछ ।







