ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “दुलाहा बाहुन र नेवार, दुलही दलित” शीर्षकको समाचार छापिएको छ । अन्तरजातीय त्यसमा पनि दलितसंग बाहुन र नेवार दुलाहा भन्दा अचम्म लाग्ला । तर, बराहक्षेत्रको चतरास्थित पुनर्वासमा आइतबार यस्तै उदाहरणीय विवाह भएको छ । जातीय भेदभावले ग्रसित नेपाली समाजमा बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्दै उदाहरण पेश गरेका हुन् । बराहक्षेत्रको चक्रघट्टीमा मोहन शर्मा र सृजिप श्रेष्ठले एकै घरको दिदिबहिनीसंग विहे गरेका हुन् । मोहनले माइली बहिनी रञ्जनासंग विहे गर्दा सुजिपले जेठी बहिनी सृजना बराइलीसंग लगनगाँठो कसे । सिर्जना र सुजिपबिच स्कुल पढ्दैदेखि मायाप्रेम झाँगिएपछि उनीहरुले यसअघि नै विहे गरेको बुबा बलबहादुर बराईलीले बताए । तर, औपचारिक रुपमा भने आइतबार मात्रै विहे भएको छ । यता रञ्जनाले फेसबुकमार्फत् मोहनसंग चिनजान भएपछि दुवैले विहे गर्ने निधो गरेको बुबा बलबहादुर बताउँछन् । त्यसैगरी आजको ब्लाष्ट दैनिकमा “प्रदेशको नाम र राजधानी फागुनमा टुङ्गो लाग्छ” शीर्षकको अर्को समाचार छापिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण र राजधानी फागुन मसान्तभित्र टुङ्गो लगाउने बताएका छन् । सोमबार पथरीमा भएको किरात राई यायोक्खा मोरङको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । हिउँदे अधिवेशनको मुख्य एजेण्डा राजधानी र नामकरण नै भएको बताउँदै माघ २० गतेदखि प्रदेशको हिउँदे हिउँदे अधिवेशन सुरु भएकोले आगामी फागुन मसान्तसम्म राजधानी र नाम टुङ्गो लगाउने मुखयमन्त्री राइको भनाई थियो । गएको अधिवेशनमा नामकरण र राजधानी टुङ्ग्याउने छलफल भएपनि प्रदेश सरकारमा रहेको पाँच दलको प्रतिनिधिले विविध कारणले समय नरहेको जनाउँदै हिउँदे अधिवेशनमा राजधानी र प्रदेशको नाम टुङ्गो लगाउने लिखित सहमति भएको मुख्यमन्त्री राईले बताए । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाले करिब एक दशकदेखि पूर्वी नेपालको १७ वटा जिल्लालाई भूगोल, इतिहास, सभ्यताको सम्मानको लागि प्रदेशको नाम किरात राखिनु पर्ने माग गर्दै प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको छ ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “प्रदेश सरकारलाई पनि कर तिर्नुपर्ने” शीर्षकको समाचार छापिएको छ । घर बनाउँदा प्रदेश सरकारलाइृ पनि कर तिर्नुपर्ने व्यवस्थासहितको विधेयक प्रदेशसभामा पेश गरेको छ । प्रदेश नं. १ को संसद्मा पेश गरिएको भजन निर्माण सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमा भवन निर्माण गर्दा प्रदेश सरकारलाई पनि राजश्व बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोमबारको प्रदेसभा वैठकमा विधेयक पेश गर्दै आन्तरिक तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विधेयकमा भवन निर्मान गर्ने व्यक्ति, संस्था, स्थानीय तह वा निकायले प्रदेश सरकारलाई राजस्व तथा शुल्क÷दस्तुर बझाउनुपर्ने व्यवस्था रहेको जानकारी दिए । विधेयकको दफा ११ मा राजस्व तथा अन्य शुल्कसम्बन्धी व्यवस्था गरिएको छ । कार्कीले विधेयकबारे संक्षिप्त जानकारी दिदैँ कति राजस्व बुझाउनुपर्ने भन्ने विषय नियमावलीले व्याख्खा गर्ने बताए । २२ वटा दफा समावेश भएको विधेयकले प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ । उनले भवन निर्माणको मापदण्ड तोकेर प्रदेशका सबै स्थानीय तहमा लागू गरिने पनि बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “बलात्कारको आरोपमा पक्राउ” शीर्षकको समाचार छापिएको छ । लेटाङ नगरपालिका ५ खेरुवाबाट प्रहरीले आइतबार साँझ बलात्कारको आरोपमा १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले बलात्कारको आरोपमा सोही स्थानका ४१ वर्षीय राजन कार्कीलाई पक्राउ गरेको हो । कार्कीले माघ २५ गते १५ वर्षीय बलात्कार गरेको भन्ने बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी उद्घोष दैनिकमा “एकल दुर्गालाई घर” शीर्षकको अर्को समाचार पनि छपिएको छ । छोराको तिरस्कारकै बीच श्रीमानको मृत्युपछि एकल बनेकी कटहरी २ मा बस्ने दुर्गा रानालाई जीवन विकास समाजले घर बनाइदिएको छ । कमाएको सम्पत्ति श्रीमान गणेशको उपचारमा सकिएपछि दम्पत्रि सहारा विहिन भएका थिए । छोरा विजय विराटनगरमै ससुराली घरमा रहेको र गणेशको अवस्था चिन्ताजनक रहेको उद्घोषमा समाचार प्रकाशित भएको थियो । पत्रिकाको समाचारका कारण दुर्गालाई बनाइएको समाजले जनाएको छ । सोमबार एक समारोहका बिच समाजका अध्यक्ष योगेन्द्र मण्डलले दुर्गालार्इृ घर हस्तान्तरण गरे । स्थानीय शंकर गिरीले जग्गादिएपछि र वडा अध्यक्ष किशोर पाण्डेले पहल गरेकाले बेसहारा दुर्गाको घर बनेको बताइएको छ ।