काठमाण्डौँ  : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिएका छन् ।

अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाएको कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । सभापति देउवाले अध्यक्ष महरलार्इृ हालसम्म गरेको कामका लागि धन्यवाद दिदैँ सोमबार नै राजिनामा स्वीकृत गरेका छन् । संघको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिएका हुन् । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । यस अघि कांग्रेस केन्द्रीय कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजिनामा स्वीकृत भएसंगै संघको महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।

–उद्घोष दैनिकबाट