धरान:२१ औं बुढासुब्बा रेडबुल गोल्डकपको आज तेस्रो दिन आयोजक धरान फुटबल क्लबले पाहुना टोली डल हाउसी एथलेटिक क्लबको सामना गर्दैछ ।

घरेलु मैदानमा उपाधि उचाल्न सधै असफल आयोजकको लागि नयाँ टोली डल हाउसीसँगको खेल कस्तो होला ? यसै अनुमान लगाउन सकिन्न । किनभने, डल हाउसी पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी टोली हो । तर, उसको खेल इतिहास लामो छ । सन् १८८० मा स्थापना भएको यो क्लब कलकत्ताको प्रिमियर डिभिजन क्लब हो । डल हाउसी पक्कै कमजोर टिम होइन् । उसको खेल र रणनीतिबारे अञ्जान घरेलु टोलीलाई आजको खेल निक्कै चुनौती हुनेछ, र रोचक प्रतिस्पर्धा पनि हुने अनुमान छ ।

Ruslan Ad

आयोजकलाई घरेलु दर्शकको साथ सधै रहन्छ । त्यही साथको कारण पटक पटक फाइनल पुगेपनि उपाधि उचाल्ने सपना भने आयोजक र घरेलु दर्शकहरुको अहिलेसम्म पुरा हुन सकेको छैन । तर, यसपाली सबै धराने खेलाडीहरुले भरिएको आयोजक टिम नि कम छैन । राष्ट्रिय खेलाडी र ए डिभिजन क्लबको अनुभवी खेलाडी लिएर उच्च मनोवलको साथ आयोजक टोली मैदानमा उत्रनेछ । यो टोलीलाई घरेलु मैदान र घरेलु दर्शकहरुको पनि साथ हुनेछ ।

आयोजक पहिलो सँस्करणमा नै फाइनल खेलेको थियो, तर बुल्गेरिया स्पोर्टिङ क्लबले उपाधि जित्यो । दोस्रो सँस्करणमा पनि फाइनल खेलेको धरानलाई महेन्द्र पुलिस क्लबले उपविजेतामै सिमित बनायो भने चौथो सँस्करणमा पनि पुलिसँग नै फाइनलमा हारेको थियो । आठौ सँस्करणमा अफ्रिकन युनाइटेडसँग फाइनलमा पराजित भएको धरान त्यसपछि भने सेमीफाइनल पार गर्न सकिरहेको छैन । ‘यसपाली फाइनल पुग्ने र उपाधि जित्ने लक्ष्य लिएर टिम तयार गरेका छौ,’आयोजक क्लबका अध्यक्ष किसोर राईको भनाई छ ।