सुनसरी: इटहरी उपमहानगरपालिका तथा शुन्दरहरैँचा नगरपालिका क्षेत्रभित्र रहेका एक दर्जन बढी माइक्रोफाइनान्स र स्थानीय तहका पदाधिकारी बीचमा एक दिने अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सभापतिको रुपमा पाथिभरा एडभरटाइजिंग प्रालि सञ्चालक पवन अधिकारी, प्रमुख अतिथिको रुपमा इटहरी उप–महानगरपालिकाका नगर प्रमुख श्री द्धरिकालाल चौधरी रहेका थिए भने विशिष्ट अतिथि नेपाल राष्ट बैंक, विराटनगरका निर्देशक विनोद आचार्य तथा अतिथिमा इटहरी उप– महानगरपालिकाका सवै वडाका अध्यक्ष, पत्रकार, स्वदेशी र सपोर्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत, अन्य लघुवित्तका शाखा प्रमुखहरु थिए । कार्यक्रममा ग्राहक सदस्य लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिका नगर प्रमुखले गरेका थिए । उद्घाटन लगतै नेपालको गरिवी न्यूनिकरणमा लघुवित्तको भुमिका विषयमा कार्यपत्र स्वदेशी लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए भने समस्या र चुनौतीको बिषयमा सर्पोट लघुवित्त वित्तिय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाले प्रस्तुत्त गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै न्यौपानेले लघुवित्तको इतिहास, वर्तमान अवस्था, विकासमा लघुवित्तको योगदान, महिला सशक्तिकरण, व्याजदर बारे गलत बुझाई, स्थानिय तह र लघुवित्तको सहकार्यका बारेमा प्रष्ट पारेका थिए । त्यस्तै कार्यपत्र प्रस्तुत गर्दै तिम्सिनाले लघुवित्तका,समस्या र सामाधानको विषयमा प्रष्ट पारेका थिए ।

कार्यपत्रमा टिप्पणीकारका भूमिका निर्वाह गरेका कस्तुरी कलेजका प्राचार्य तथा नागरिक समाजका पूर्व अध्यक्ष कमलेश शर्मा पौडेलले कार्यक्रमले लघुवित्तप्रति रहेको भ्रम चिर्न सफल भएको बताए । यस्तै, स्थानीय तहसँग सहकार्य अपरिहार्य रहेको धारणा राख्दै उनले लघुवित्तले प्रदान गर्ने विना धितो कर्जा सम्बन्धित निकायबाट निगरानी गर्नुपर्ने विषयमा पनि टिप्पणी गरेका थिए । टिप्पणीकार पछि पत्रकार तथा अन्य सहभागीहरुले पनि टिप्पणी गर्दै लघुवित्त संस्थाले पनि उचित कर्जा सुचना लिई कर्जा प्रवाह गर्न सुझाव दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा मेयर चौधरीले लघुवित्त संस्थाहरुसँगको सहकार्य बढाउने तथा आवश्यक सहयोग गर्ने बचन दिएका थिए ।

विशिष्ट अतिथि नेपाल राष्ट बैंक, विराटनगरका निर्देशक विनोद आचार्यले लघुवित्त करोबार गर्दा लघुवित्तको उद्देश्य अनुसार गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन दिदै स्थानीय तहले क्षमता बिकास तालिम प्रदान गर्ने तथा लघुवित्तले कर्जा लगानी गर्दा उपयुक्त हुने धारणा राखे । ग्रामिण गरिबी भन्दा शहरी गरिबी आफुले झन बिकराल देखेको भन्दै उनले यसतर्फ बिषेश ध्यान दिन सरोकार निकायलाई आग्रह गरे । आफ्नो मन्तब्यको क्रममा स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईले लघुवित्त गरिबी निबारण र बिपन्न वर्गको आर्थिक विकासमा अहोरात्र लागि रहने भएकोले आगामी दिनमा स्थानीय तहबाट आवश्यक सहयोग मिल्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका क्षेत्रीय प्रबन्धक गोपालप्रसाद अधिकारी, पत्रकार महासंघ सुनसरी सभापति अमर खडका, पत्रकार बिबेक भटराई, पाथिभरा एडभरटाइजिंग प्रालिका प्रबन्धक गणेश निरौलालगायतले गरीबी निवारणका क्षेत्रमा लघुबित्तहरुले खेलेका भुमिकाका बिषयमा चर्चा गरेका थिए । कार्यक्रमका सभापति तथा पाथिभरा एडभरटाइजिंग प्रालिका कार्यकारी प्रमुख पवन अधिकारीले यस्ता कार्यक्रमहरुले समाज रुपान्तरणमा ठुलो भुमिका खेल्ने जिकिर गरे । उनले बित्तिय क्षेत्रहरुसँगको सहकार्यमा आगामी दिनमा निरन्तर यस खालका क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालन गर्न प्रेरणा मिलेको बताए । कार्यक्रम इटहरीमा रहेको पाथिभरा एडभरटाइजिंग प्रालिको आयोजना र स्वदेशी लघुवित्त, सर्पोट लघुवित्त, ग्रामिण विकास लघुवित्त, छिमेक लघुवित्त, नाडेप लघुवित्त,नेशनल माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, आशा लघुवित्त, साहारा नेपाल तथा जीवन विकास समाजको प्रायोजनमा भएको थियो ।